दाङ। दाङमा पछिल्ला वर्षमा माछाको उत्पादन बढ्दै गएको छ । माछा पालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि उत्पादन पनि बढ्दै गएको हो । दुई वर्षको अन्तरमा झन्डै ३ गुणा बढी माछा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय दाङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ७ सय ८० टन माछा उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा २ सय ४५ टन मात्रै माछा उत्पादन भएको थियो ।माछा पालनबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरु पनि यो व्यवसायमा आकर्षित हुँदै गएका छन् । जसले गर्दा माछा उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा दाङमा १८ हेक्टरमा नयाँ माछापालनका लागि जलाशय निर्माण गरिएको छ । नयाँ पोखरी विस्तारसँगै दाङमा १ सय ७५ हेक्टर क्षेत्रफल माछापालन क्षेत्र भएको छ ।यो क्षेत्रफलमा ४ सयभन्दा बढी किसानले व्यावसायिक माछापालन गर्दै आएको कृषि विकास कार्यालयले बताएको छ ।
जिल्ला कृषि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत सुरेशकुमार भुजेले सरकारको मत्स्य उत्पादन विशेष कार्यक्रमअन्तर्गत १८ हेक्टरमा ७५ वटा नयाँ माछापालन जलाशय निर्माण गरिएको बताए । जसमा सरकारको ५० प्रतिशत र कृषकको ५० प्रतिशत गरी १ करोडभन्दा बढी लगानी भएको छ ।
मत्स्य विकास विशेष कार्यक्रमअन्तर्गत मत्स्य विकास निर्देशनालयको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको अनुगमन तथा प्राविधिक सहयोगमा आव ०७२/७३ मा दाङका धर्ना, डुरुवा, नारायणपुर नगरपालिका, तुलसीपुर नगरपालिकाका साथै लमही नगरपालिका, गोवरडिया, गंगापरस्पुर, सिसनियालगायतका गाविसमा नयाँ माछा पोखरी विस्तार गरिएको छ ।