लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा डेढ करोड रूपैयाँको लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ । जिल्लामा नाम चलेका व्यवसायी गुणराज शिलवालको पहलमा हुलाकी ईण्डष्ट्रिज प्रालि नामक संस्थामार्फत वेकरी उद्योग सञ्चालनमा आएको हो । स्वरोजगारको वातावरण सृजना गर्ने र जिल्लाबासीलाई स्थानीयस्तरमा गुणस्तरीय उत्पादन दिने उद्धेश्यले बेकरी उद्योग सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष शिलवालले बताए ।
जिल्लामा यस्तो खालको उद्योग आवश्यक रहेको भन्दै शिलवाल सहित चार जनाको लगानीमा उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनको शुरुवातमा रू. १ करोड ५० लाख लगानी गरेको र पछि थप मेसिन थपिने हुँदा रू. २ करोड लगानी पुग्ने संस्थाका अध्यक्ष शिलवालले बताए । उद्योग सञ्चालनमा शिलवालको ४० प्रतिशत, रुपेश खतिवडाको ३० प्रतिशत, दिप अधिकारीको २० प्रतिशत र बुद्धिलाल श्रेष्ठको १० प्रतिशत लगानीे छ ।
उद्योगमा ठूलादेखि सानासम्मका चार प्रकारका बेकरी परिकार, कुकीज विस्कुट र पप आइटम बनाइने सञ्चालक रुपेश खतिवडाले बताए । गुणस्तरलाई ध्यान दिई आवश्यकता अनुसारको आइटम उत्पादन गरिने उनले जानकारी दिए । उद्योगका लागि भारत र चीनबाट अत्याधुनिक प्रविधिका मेसिनहरु भित्रयाइएको छ । उद्योग सञ्चालनका लागि ३ जना दक्ष कर्मचारी बाहिरबाट ल्याइएको र बढी मात्रामा महिलाहरुलाई रोजगार प्रदान गरेको अर्का सञ्चालक दिपक अधिकारीले बताए । उद्योगको शुरुवातमा १० जना कर्मचारी राखिएको छ । जिल्लाका शहरदेखि गाउँसम्म र बाहिरी जिल्लामा उद्योगमार्फत उत्पादित आइटमहरु पठाउनका लागि डेलिभरी भ्यान लगायतका साधनहरुको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।उद्योगबाट दैनिक रू. १ लाख बराबरको बेकरी आइटम उत्पादन गरिने संस्थाका अध्यक्ष शिलवालले जानकारी दिए । पछिल्लो समय सुगरका बिरामी बढेको भन्दै सुगर फ्रि ब्रेड आइटम समेत उत्पादन गरिने उनले बताए । लामो समयदेखि व्यावसायिक क्षेत्रमा रहेका शिलवालले लामो समयको अनुसन्धान र जिल्लाको आवश्यकतालाई हेरी उद्योग सञ्चालनमा ल्याएको समेत बताएका छन् ।