नवलपरासी। नवलपरासीका उखु किसानले सरकारले तत्काल उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । उखु क्रसिङ सुरु भइसक्दासमेत सरकारबाट मूल्य निर्धारण नभएको भन्दै किसानहरुले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६१ रुपैयाँ निर्धारण गर्न माग गरेका हुन् ।
अघिल्लो वर्ष चिनीको मूल्य प्रतिकिलो ४८ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल चार सय ४८ रुपैँया रहेको थियो । तर यसपटक चिनीको मूल्य प्रतिकिलो ७२ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६१ निर्धारण हुनुपर्ने उखु उत्पादक कृषक समितिले जनाएको छ । उचित मूल्य र समयमा चिनी उद्योगबाट भुक्तानी रकम नपाउदा किसान थप मारमा परेको उखु किसान अगुवा प्रेमचन्द्र गुप्ताले बताए ।
चिनी उद्योगले मङ्सिर महिनादेखि उखुको क्रासिङ गर्ने काम सुरु गर्छ । नवलपरासीमा लुम्बिनी चिनी उद्योग, इन्दिरा सुगर मिल, मोहीनी सुगर मिल्स र बागमती खाडसारी गरी गरी पाँच ठूला चिनी उद्योग रहेका छन् ।
उखु किसानले चिनी उद्योगलाई उखु दिएपनि समयमा भुक्तानी नपाउने भएपछि किसानले प्रत्येक वर्ष उखु खेती लगाउन छाड्दै गएका छन् । उखु खेतीबाट लाभलिने उद्देश्य लिएका उखु किसान दिनप्रतिदिन ऋणको चपेटमा पर्दै गएका छन् ।
जिल्लाको कुल सात हजार पाँच सय हेक्टर क्षेत्रफलबाट वार्षिक २० देखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ । खास गरी नवलपरासीको ६ नं निर्वाचन क्षत्रेका अधिकांश गाविस उखु खेतीका लागि उर्वर मानिन्छ । जिल्लामा करिब १४ हजार घरपरिवारले उखु खेती गर्ने गरेका समितिले जनाएको छ ।

छ करोड बराबरको कार्यक्रम
जिल्ला कृषि विकास कार्यालयले चालु आवमा करिब छ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कृषि अनुदान, जनचेतनामुलक कार्यक्रम, कृषि प्रचारप्रसारमा सो रकम खर्च गरिने कार्यालय प्रमुख तेजनारायण गैरेले बताए ।