सुर्खेत । नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यको चामल विक्री शुरु गरेको छ । विभिन्न फोरमबाट स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुला रुपमै चामल विक्री वितरण शुरु गरको हो । पहिलो पटक दशंै, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित सहुलियत दरको चामल विक्री शुरु गरेको संस्थानले अब बाह्रै महीना पसल सञ्चालन गर्नेछ ।
बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यका चामल विक्री शुरु गरिएको संस्थानका प्रमुख भीम थापाले जानकारी दिए । सुर्खेतमा संस्थानको गोदाम भएर पनि स्थानीयलाई चामल विक्री नगरेर कर्णाली र दैलेखमा ढुवानी हुँदै आएको थियो । ‘स्थानीयको माग बढ्दै गएका कारण केन्द्रबाट अनुमति पाएपछि सहुलियत मूल्यको चामल विक्री शुरु गरका हौं,’ संस्थानका प्रमुख थापाले भने । संस्थानबाट विक्री हुने चामल बजारको मूल्यभन्दा सस्तोमा पाइनेछ । व्यापारीले कृत्रिम अभाव सृजना गरेर कालोबजारी तथा मूल्यमा आफूखुशी गर्न थालेपछि नागरिकलाई सहजताका लागि संस्थानले चामल विक्री गर्न लागेको हो ।
संस्थानले सार्वजनिक विदा बाहेक विहान १० बजेदेखि बेलुका ५ बजेसम्म चामल विक्री वितरण भइरहेको बताएको छ । सहुलियत मूल्यको चामल प्रतिव्यक्ति बढीमा एक क्वीण्टलसम्म खरीद गर्न पाईने छ । संस्थानले सुर्खेतमा चार प्रकारका सहुलियत मूल्य चामल ल्याएको छ । जिरा मन्सुली, अरुवा सोना मन्सुली, अरुवा मकवानपुर र बंगलादेशी उसिना रहेका छन् । ती सबै चामलमा प्रति क्वीण्टल पाँच प्रतिशतले छुट गरिएको छ । सुर्खेती बजारमा प्रति किलो ८० रुपैयाँमा विक्री भईरहेको जिरा मन्सुली चामल संस्थानले ६० रुपैयाँमा विक्री गरिरहेको छ । संस्थानका अनुसार अरुवा सोना मन्सुली प्रति किलो ४० रुपैयाँ ७० पैसा, अरुवा मकवानपुर ३६ रुपैयाँ ७७ पैसा र बंगलादेसी उसिना ३५ रुपैयाँ ८७ पैसामा विक्री भईरहेको छ ।
संस्थानले वीरेन्द्रनगर शाखाबाट नै चामल विक्री गर्ने प्रबन्ध मिलाएको छ । तर, जिल्लाका विकट गाविस लगाम, बेतान, घाटगाउँ, तातापानी, छाप्रे, तरङ्गा, लेखगाउँ, अवलचिङ, रजेना, रानीवास, नेटालगायत गाविसमा खाद्य उत्पादन कम हुने गरेको छ । यी गाविसका नागरिकलाई भने चामल लिन कार्यालयमै आउँदा निकै सास्ती हुने भएको छ । ‘तत्काल बाहिर डिपो स्थापना गर्ने योजना छैन,’ थापाले भने, ‘सदरमुकाम वीरेन्द्रनगरबाटै चामल वितरण गर्दा सबै नागरिकलाई समेट्न पक्कै पनि गाह्रो पर्छ ।’ यद्यपि केन्द्रको समन्वयमा पर्याप्त माग आएपछि जिल्लाका अन्य शहरमा विक्रीको व्यवस्था मिलाउन सकिने उनले बताए ।
‘सुर्खेतमा थप डिपो सञ्चालनका लागि औपचारिक जानकारी भने छैन,’ उनले भने, ‘तर हालकै गोदामबाट सहुलियत दरमै चामल विक्री गर्ने प्रक्रिया अघि बढाइएको छ ।’ जिल्लाको पूर्वीक्षेत्रको तुलनामा पश्चिममा खाद्यान्न कम मात्रामा उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संस्थानले वीरेन्द्रनगरबाट मात्रै चामल विक्री गर्दा सबै नागरिकको पहुँच नपुग्ने स्थानीयको भनाइ छ ।