पर्वत । चारैतर्फ हरियाली, उत्तरमा जङ्गल र दक्षिणमा कालीगडण्की । बिचमा रहेको पाङराङ गाविस, त्यहाँ फलेका लटरम्म सुन्तला । देख्दै मुखै रसाउने । अधिकांश पाकेका र केही पाक्न बाँकी सुन्तला स्यार्हान पाङराङ ८ का पूर्णबहादुर कुँवरलाई भ्याईनभ्याई छ । वि.सं. २०६२ सालदेखि व्यावसायिक सुन्तला खेती शुरु गरेका कुँवरले अहिले सुन्तला खेतीलाई गतिलो आम्दानीको स्रोत बनाउन सफल भएका छन् ।
सुन्तला खेतीलाई व्यवसायको रुपमा अङ्गालेका कुँवरले वर्षेनी आम्दानी बढाउँदै लगेका छन् । २०७० सालमा २ लाख, २०७१ मा ३ लाख र अघिल्लो वर्षमा उनले ४ लाख आम्दानी गर्न सफल भएका छन् । एउटा बोटबाटै सुन्तला राम्रो फलेमा ५ हजारसम्म आम्दानी गर्न सकिने उनी बताउँछन् ।
८० रोपनी क्षेत्रफलमा लगाएका १ हजार ५ सय बोटमध्ये ६ सय बोटमा सुन्तला फलेका छन् । यस वर्ष सुन्तलाका बिरुवा बढी भएका कारण गत वर्षको तुलनामा यसवर्ष बढी सुन्तला फलेको उनले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी बोटमा सुन्तला फलेका कारण ५ लाखसम्म आम्दानी हुने उनले बताए । सुन्तला केही मात्रामा पाकिसकेका छन् भने केही पाक्ने क्रममा छन् । अब सुन्तला सबै टिपेर केही समय राख्ने र बिक्रीका लागि लैजाने कुँवरले बताए ।
उनको यस व्यवसायलाई जिल्ला कृषि विकास कार्यालयले पनि साथ दिएको छ । सुन्तलामा लाग्ने रोग, त्यसको पहिचान र समाधानका विषयमा उनलाई कार्यालयले तालिम दिएको छ । उनले जिल्ला कृषि विकास कार्यालयबाट हालै राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् ।
सुन्तला उत्पादन भएतापनि बजारसम्म पुर्‍याउन बाटो र बजार अभावका कारण सुन्तला बिक्रीमा समस्या परेको उनी बताउँछन् । यातायात असुविधाका कारण जिल्ला सदरमुकामसम्म सुन्तला लैजान समस्या पर्ने गरेको बताए । सुन्तला बिक्रीका लागि उनले सदरमुकाम कुश्मा र काठमाडौंको कालीमाटी लैजाने गरेको बताए ।
अहिले कृषि विकास कार्यालयले कृषकले उत्पादन गरेको सुन्तलालाई प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ढुवानीमा छूट दिने तयारी गरिएको जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।
कार्यालयले पाङराङसहित बाँसखर्क, शालिजा, देउपुर, धाईरिङ लगायतका गाविसलाई पकेट क्षेत्र घोषणा गरेर कृषकहरुलाई मल, क्यारेट, औषधी, बिरुवा दिई सहयोग गरिरहेको रेग्मीले बताए । कृषितर्फ आकर्षण बढाउन कार्यालयले विभिन्न युवालक्षित कार्यक्रमहरु समेत सञ्चालनमा ल्याएको छ ।