—  बिल अधिकारी
चितवन ।आगामी पुस महिनामा भरतपुरको औद्योगिक प्रदर्शनी स्थलमा दोस्रो चितवन मत्स्य महोत्सव २०७३ हुने भएको छ । दोस्रो मत्स्य महोत्सवको अवसरमा सरोकारवालाबीच राखिएको अन्तरक्रिया कार्यक्रममा नेपाल मत्स्य व्यवसाय संघ चितवनले पुसको १ देखि ५ गतेसम्म सञ्चालन गर्न लागेको जानकारी दिइएको हो ।
कृषि प्रधान देश नेपालमा ६६ प्रतिशत जनताको जीविकोपार्जनको स्रोत कृषि रहेको सन्दर्भमा माछाले देशको कूल ग्राहस्थ उत्पादनको करिब साढे एक प्रतिशत हिस्सा ओगटेको छ । बुधबार आयोजित कार्यक्रममा नेपालमा पाँच लाख ८५ हजार जना माछापालन व्यवसायसँग संलग्न रहेको एक हजार नौ सय ३४ हेक्टर क्षेत्रफल जलासय र वार्षिकरुपमा सात हजार आठ सय ८२ मेट्रिक टन माछा नेपालमा नै उत्पादन भइरहेको जानकारी दिइएको थियो ।—
माछाको पकेट क्षेत्रको रुपमा विकसित हुँदै आएको चितवनमा पनि हालसम्म २० हजार भन्दा बढी माछापोखरी निर्माण भइसेका छन् । चितवनमा एक हजार एक सय ७२ जना किसान माछापालनमा संलग्न रहेका छन् भने जिल्लामा मात्र वार्षिकरुपमा दुई हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
देशमा व्याप्त बेरोजगारीको मारमा परेका युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै स्वरोजगार बन्न महोत्सवले उत्प्रेरणा प्रदान गर्ने नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बताए । महोत्सवको अवसरमा बजारमा माग भइरहेको विभिन्न कार्य तथा जातिका माछा साथै प्रविधियुक्त मापदण्ड पुगेका व्यवसायिक पोखरी प्रदर्शन गरिने बुधबारको अन्तरक्रियामा बताइएको छ । उक्त महोत्सवमा माछासम्बन्धी करिब सय वटा स्टल राखिने र महोत्सवमा राखिने स्टलहरुको चोरी, आगलागी तथा हुलदंगा विमा समेत गरिने नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष रमेश पाण्डेले बताए । कृषि तथा वनविज्ञान विश्वविद्यालयका प्रा.डा. माधवकुमार श्रेष्ठले चितवनमा माछाको विशेषता छ भनेर देखाउनको लागिसमेत महोत्सव प्रभावकारी हुने बताए ।
मुटुरोगीलाई समेत ताजा माछा खाँदा फाइदा हुने भएकाले यसबारेमा महोत्सवबाट जानकारी बाँड्नुपर्नेमा श्रेष्ठले जोड दिए । बुधबारको छलफलमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदी, कृषि विकास कार्यालय चितवनका प्रमुख कृषि विकास अधिकृत सुधीर श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजराम रेग्मीलगायतले मत्स्य महोत्सवका विषयमा धारणा व्यक्त गरेका थिए ।