काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ७ नं प्रदेशको कैलाली जिल्लामा कार्यान्वयन हुन लागेको गहँु बालीको ‘सुपर जोन‘ कार्यक्रमका लागि चार ओटा गाविस छनोटमा परेका छन् ।
जिल्लाको पहलमानपुर, उदासीपुर, बसौटी र मसुरिया गाविस क्षेत्रको एक हजार हेक्टरमा गहुँ बालीको ‘सुपर जोन‘ कार्यक्रम कार्यान्वयन गर्न छनोटमा परेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । कार्यालयले गहुँको बढी उत्पादन हुने गाविसको नाम प्रस्ताव गरेकामा यी चार गाविसलाई कृषि मन्त्रालयले छनोट गरेको हो ।
कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत् सञ्चालन गरिने यो कार्यक्रम कार्यान्वयनका लागि परियोजनाले उन्नत बीउबिजन, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना एवम् सञ्चालनलगायतमा सहयोग गर्न लागेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताए । गहुँ बालीका लागि हाललाई एक हजार हेक्टर जग्गामा यो कार्यक्रम कार्यान्वयन गरिन लागिएको भए पनि विस्तारै अन्य क्षेत्रमा समेत कार्यक्रम विस्तार हुने पाण्डेले बताए । कैलालीमा यो कार्यक्रमका लागि चालू वर्षमा झण्डै रू. छ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । कृषि उत्पादन वृद्धि गरी आयात घटाउँदै जाने उदेश्यले सरकारले आव २०७३/०७४को बजेटमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गर्ने घोषणा गरेको थियो ।
परियोजनाअन्तर्गत ‘एक प्रदेशमा एक सुपर जोन’ कार्यक्रम, ३० जिल्लामा जोन कार्यक्रम, कार्यान्वयन गर्ने लक्ष्य राखिएकामा ७ नं प्रदेशको कैलालीमा गहँु बालीको, १ नं प्रदेशको झापामा धान बाली, २ नं प्रदेशको बारामा माछा उत्पादन, ३ नं प्रदेशको काभे्रल्पाञ्चोकमा आलु उत्पादन, ४ नं प्रदेशको कास्कीमा तरकारी बाली, ५ नं प्रदेशको जुम्लामा स्याउ बाली र ६ नं प्रदेशको दाङमा मकै बालीको सुपर जोन कार्यक्रम सञ्चालन हुन लागेको हो । यसका लागि छुट्टै कार्यालय स्थापना गर्न लागिएको छ । गहुँ उत्पादनका लागि कैलालीको जग्गा उर्वर मानिन्छ । जिल्लामा झण्डै ३४ हजार हेक्टरमा गहुँ बालीको खेती हुने गरिएकामा उत्पादकत्व राष्ट्रिय उत्पादकत्वभन्दा बढी अर्थात प्रतिहेक्टर २.५१ मेटन रहेको छ । गत वर्ष जिल्लामा यो जग्गामा ८६ हजार ५ सय ९५ मेटन गहँु उत्पादन भएको थियो ।
यस्तै परियोजनाअन्तर्गत नै सञ्चालन हुन लागेको पकेट र ब्लक कार्यक्रमतर्फ कैलाली जिल्लाको हकमा माछा र धान बाली उत्पादन कार्यक्रम सञ्चालन हुन लागेको बताइएको छ ।