रूपन्देही। रूपन्देहीका किसान पशु बीमाप्रति आकर्षित हुन थालेका छन् । आर्थिक वर्ष २०७२/७३ मा यहाँका किसानले करीब ८ हजार पशुपंक्षीको बीमा गराएका छन् ।सरकारले अनुदान दिन थालेसँगै पशु बीमा लोकप्रिय हुन थालेको जिल्ला पशु सेवा कार्यालयका निमित्त प्रमुख एवम् वरिष्ठ पशु चिकित्सक प्रदीप शर्मा पौडेलले बताए । ‘पशु/पक्षी किनेपछि कार्यालयमा बीमाका लागि सोधपुछ गर्न पनि आइपुग्छन्,’ पौडेलले भने, ‘बीमा गरेसँगै जोखीम घट्दै गएकाले किसान आकर्षित हुन थालेका हुन् ।’
कृषकलाई व्यावसायिक पशुपालनमा प्रेरित गर्न सरकारले बीमा प्रिमियम रकमको ७५ प्रतिशत अनुदान दिने गरेको छ । अनुदानकै कारण गत आर्थिक वर्षसम्म जिल्लामा ७ हजार ८ सय ११ पशुपक्षीको बीमा गरिएको छ ।
तीमध्ये १ हजार २ सय १४ गाई, ६ सय ५२ भैसी, ३ हजार ८ सय १४ बाख्रा, १ हजार ३ सय ८१ बङ्गुर, ५० भेडा र ७ सय अष्ट्रिज रहेको पौडेलले जानकारी दिए । गत आर्थिक वर्ष २०७१/७२ मा करीब ५ हजार पशुपक्षीको बीमा गरिएको थियो । किसानले ५१ करोड ३४ लाख ८ हजार रुपैयाँबराबरको पशुधनको बीमा गराएका छन् ।पशुबीमा गर्ने किसानले २५ प्रतिशतमात्र तिर्नुपर्छ । किसान व्यावसायिक बन्दै गएसँगै पशुबीमा लोकप्रिय हुँदै गएको हो । बीमा नगर्दा कुनै पशु मरेमा किसानको क्षति हुने र तुरुन्त अर्को खरीद गर्न नसक्ने अवस्था हुने तर बीमा गरिएको पशु मरेमा राहतबापत पाउने रकमले अर्को खरीदमा सहयोग पुग्ने भएकाले किसान व्यावसायिक पशु पालनबाट विस्थािपत हुने अवस्था नरहने कार्यालयको ठम्याइ छ ।
रूपन्देहीमा ५ सय ५९ कुखुरा, ३ सय ५० गाई, २ सय २ भैसी, ४६ बङ्गुर, ८३ बाख्रा, एउटा अष्ट्रिज र दुईओटा व्यावसायिक घाँस फर्म सञ्चालनमा रहेका छन् ।