दोलखा । औषधीय गुण र अफ सिजनमा फल पाक्ने विशेषताले युक्त फल ‘रेड किवी’को परीक्षण दोलखामा सफल भएको छ । आर्थिक वर्ष २०७१/७२ देखि दोलखाको बोच गाविसस्थित शीतोष्ण फलफूल रुटस्टक विकास केन्द्रले शुरू गरेको ‘रेड किवी’को परीक्षण उत्पादन सफल भएको हो ।
नार्कका वरिष्ठ वैज्ञानिक डा. सूर्य पाण्डेले काभ्रेपलाञ्चोक जिल्लाको पातले खेतमा गरिरहेको खेतीबाट ५० बोटबाट बिरुवा ल्याएर गरिएको परीक्षण उत्पादन सफल भएको केन्दका कृषि प्राविधिक गुणराज पौडेलले जानकारी दिए ।
सामान्य किवीभन्दा २ महीनाअघि नै खानयोग्य हुने ‘रेड किवी’लाई दोलखाको १ हजार २ सयदेखि १ हजार ७ सय मिटर उचाइसम्म खेती गर्न सकिने परीक्षणबाट देखिएको कृषि प्राविधिक पौडेलले जानकारी दिए । अरू किवीभन्दा सानो, छिटो पाक्ने, असाध्यै स्वादिलो र असोजमै पाक्ने ‘रेड किवी’ रोपेको तेस्रो वर्षबाट उत्पादन दिने परीक्षणले देखाएको छ ।
५–५ फिटको फरकमा ३–३–३ फिट लम्बाइ, चौडाइ र गहिरो बनाएर एक रोपनी जमिनमा १५ ओटा पोथी र ३ ओटा भाले जातको बिरुवा रोप्न सकिने प्राविधिकले बताएका छन् । झण्डै ४० वर्षसम्म उत्पादन दिने ‘रेड किवी’को प्रत्येक बोटमा ३० देखि ५० केजी फल फल्ने कृषि प्राविधिक पौडेलले जानकारी दिए ।