पर्वत । पर्वतको उत्तरी गाविसमा प्रशोधन गरिएका अल्लो विदेशी बजारमा निर्यात हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा पाईने अल्लो प्रशोधन गरेर कपडा उत्पादन हुन थालेपछि नेपालका अधिकांश जिल्लाका जापान र कोरिया तथा बेलायत लगायतका देशहरुमा निर्यात हुन थालेको छ । विदेश निर्यात हुन थालेसँगै अहिले यसको मूल्यमा समेत वृद्धि भएको छ ।
झण्डै डेढ दशक पहिलेसम्म वनपाखामा कुहिएर जाने अल्लोबाट बुनेका कपडा अहिले बहुमुल्य बनेका हु्न् । उत्तरी पर्वतका लेखफाँट, शालिजा, क्याङ, भुकताङ्ले, चित्रे आर्थर र भोक्सिङ्ग गाविसमा अल्लोको प्रशस्त उत्पादन हुँदै आएको छ । यद्यपि अहिलेसम्म शालिजा र क्याङ गाविसमा उत्पादित अल्लो मात्र प्रशोधन हुँदै आएको छ । ती दुई गाविसका महिलाहरुले व्यावसायिक रुपमा अल्लो प्रशोधन गरी कपडा बुन्न थालेपछि उत्पादित कपडा यूरोप र अमेरिकामा समेत लोकप्रिय बन्दै गएको छ । वार्षिक रुपमा लाखाँै मूल्यको कपडा जापान, कोरिया र बेलायत पुग्ने गरेको छ ।
हम्पालको जङ्गलमा प्रशस्त मात्रामा पाइने अल्लो प्रशोधन गरेर पर्वतमा व्यावसायिक रुपमा अल्लोको कपडा उत्पादन गरिँदै आएको छ । विभिन्न संस्थाको पहलमा स्थानीय महिलाहरुलाई अल्लो प्रशोधन सम्वन्धी तालिम दिएपछि व्यावसायिक रुपमा यसको उत्पादन हुन थालेको हो । पछिल्लो समयमा जिल्ला भित्रिने आन्तरिक तथा बाह्य पर्यटकका लागि मुख्य उपहार समेत अल्लोका कपडा बनेका छन् । उत्पादित कपडा धेरै मात्रामा विदेशमा नै खपत हुने गरेको उद्यमीहरु बताउँछन् ।
बिक्रीका लागि पर्वतको सदरमुकाम कुस्मा र पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बिक्री केन्द्र सञ्चालन गरेर बिक्री वितरण गरिँदै आएको छ । कपडाबाट केही तयारी वस्तुहरु समेत बनाउने गरेका छन् । टोपी, सुट, इष्टकोट, झोला, पर्स जस्ता सामग्रीहरु अहिले जिल्ला भित्रिनेहरुका लागि मुख्य उपहारका सामग्री बनेका छन् ।
पर्वतमा वार्षिक १ हजार पाँच सय मिटर अल्लोको कपठा उत्पादन हुँदै आएको छ । अहिले प्रतिमिटर कपडालाई ६ सय रुपैयाँ सम्म बिक्री हुँदै आएको सदरमुकाम कुश्मामा रहेको सौगात गृहकी सञ्चालक समेत रहेकी उद्यमी जसमाया पुनले बताईन् । थान कपडाको मुल्य सस्तो भएपनि यसवाट निर्मित कोट, स्टकोट, झोला, मनिपर्स लगायतका वस्तुहरुको मुल्य भने अन्य कपडा भन्दा दोब्बर÷तेब्बरसम्म पनि रहेको छ । व्यावसायिक रुपमा लागेका महिलाहरुले मासिक १० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको बताउँछन् ।
यहाँका महिलाहरुलाई तालिमका लागि बोलाउने भएकाले बाजुरा, जुम्लामा समेत पुगेर सीप तालिम दिने गरेको उद्यमी पद्मा पुनले बताईन् । अल्लो प्रशोधनका लागि जिल्ला स्थित जिल्ला वन कार्यालय र घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला विकास समिति पर्वतले पनि सहयोग गर्दे आएका छन् ।
महिलाहरुले वर्षायाम सकिएपछि मङ्सिरदेखि माघ महीनासम्म वनबाट अल्लो काटेर ल्याउने गर्दछन् र त्यसलाई पकाउन, सुकाउने र धागो बनाइसकेपछि तयारी कपडा बनाउनका लागि उद्योगमा पु¥याउने गर्दछन् । जिल्ला लघु उद्यमी सङ्घ पर्वतका अनुसार पर्याप्त लगानी र जनशक्तिको अभावमा जिल्लामा पाईन अल्लो प्रशोधन हुन सकिरहेका छैनन् । अहिलेपनि आधुनिक मेशिन नहुँदा र तानमार्फत बुन्नुपर्ने समस्याका कारण पनि यसवाट उत्पादन कम भएको देखिएको छ ।
आधुनिक मेशिनहरु उपलव्ध हुन सक्यो भने दैनिक सयांै मिटर अल्लोका कपडा बुन्न सकिने उद्यमी जसमाया पुनले बताईन् । जिल्ला वन कार्यालय पर्वतका निमित्त प्रमुख हरिशचन्द्र सापकोटाका अनुसार झण्डै एक दशक अघि एन्साव नामक संस्थाले जिल्लाको अल्लो सम्वन्धि अध्ययन गरेको र उक्त अध्ययन अनुसार जिल्लामा अल्लोको प्रवद्र्धन हुन सकेमा ठूलो फाइदा लिन सकिने बताए । जिल्ला वन कार्यालयले पनि जिल्लामा विभिन्न क्षेत्रमा पाइने अल्लोको प्रशोधन र निकासीका लागि सहयोग गर्दै आएको जानकारी दिए ।
पछिल्लो समय पर्वत उद्योग वाणिज्य सङ्घले पनि अल्लोको उद्योग स्थापनाका लागि पहल थालेको छ । केहि दिन पछि जिल्लामा आएको उद्योग मन्त्री नविन्द्रराज जोशीसँग पर्वतमा अल्लोको उत्पादन प्रशस्त मात्रामा पाइने भएकाले जिल्लामै अल्लोको उद्योग स्थापना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन माग गरेको थियो । पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले पर्वतमा अल्लो र लप्सी उद्योग स्थापना गर्न मन्त्रीसँग माग गरेको र मन्त्रीले सम्भाव्यता अध्ययन गरेर विस्तृत विवरण पेश गर्न सुझाव दिएको लामिछानेले जानकारी दिए ।