म्याग्दी । फल टिप्ने औजारको अभावमा टिमुर खेती गरेका म्याग्दीका कृषकहरू राम्रो आम्दानीको स्रोतबाट बञ्चित भएका छन् । टिमुरका रुखमा हुने विषालु काँडाका कारण फल टिप्न समस्या भएकाले आम्दानीको स्रोतबाट वञ्चित भएको कृषकहरू बताउँछन् । बजारमा टिमुरको माग उच्च भएपनि उपकरणको अभावमा फल टिप्न नसकिँदा माग अनुसारको आपुर्ति गर्न नसकिएको मध्य म्याग्दी टिमुर सञ्जालका पूर्व अध्यक्ष नारायण बानियाले बताए ।
बानियाका अनुसार औजार अभावमा जिल्लाभर वार्षिक जम्मा ३० मुरीको अनुपातमा फल सङ्कलन हुने गरेको छ । फलेको फलको ५० प्रतिशत मात्र सङ्कलन गर्न सकिएको उनले बताए । रुखका काँडाले कोप्ने भएकाले धेरै फल बोटमानै छाड्नुपर्ने समस्या रहेको घोर्लास सामुदायिक वन उपभोक्ता समिति घतानका उपभोक्ता ज्ञानबहादुर विक बताउँछन् । हालसम्म हातले र म्याग्दी उद्योग वाणिज्य सङ्घले प्रदान गरेका सिमित औजारले मात्रै टिमुरको फल टिप्ने गरिएको छ ।पहिले–पहिले खेतीबारीमा लगाइएको खेतीबाली संरक्षण गर्न बारका रुपमा टिमुरको बोट लगाउने चलन थियो । उपभोगमा आउन नसकेको खेतबारीको कान्ला, बार तथा पाखोमा पनि खेती गर्न सकिने टिमुर स्वाथ्यका लागि लाभदायक हुने जानकारी पाएपछि केही वर्षायता म्याग्दीका कृषक व्यवसायिक टिमुर खेतीतर्फ आकर्षित भएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घले पनि म्याग्दीका केही गाउँहरुलाई एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत टिमुरको पकेट क्षेत्र घोषित गरेको छ ।
अरु खेतीलाई जस्तो बढी स्याहासुसार गर्न नपर्ने र सिंचाई पनि आवश्यक नपर्ने भएकाले पनि यसतर्फ स्थानीयवासीको आकर्षण बढेको बताईन्छ । चिकित्सकहरुका अनुसार सन्तुलन मिलाएर टिमुरको नियमित सेवन गर्दा बाथ, अरुची हुने, पेट फुल्लिने, शारीरिक शिथिलतालगायतका स्वास्थ्य समस्या निको हुने गर्छ ।म्याग्दी जिल्लाका घतान, ज्यामरुककोट,पात्लेखेत, झिँ, पाखापानी, पुलाचौर, कुँहु, चिमखोला, दग्नाम, पिप्ले, भगवती, वेग, दाना, नारच्याङ र ताकम लगाएतका गाउँहरुमा टिमुर खेती हुने गरेको छ ।
समुन्द्री सतहबाट एक हजार पाँच सयदेखि दुई हजार ४ सय मिटरको उचाईमा टिमुरको खेती गर्न सकिन्छ । यी गाउँहरुका ४२ ओटा वन समूहमा आवद्ध उपभोक्ताहरूले सामुदायिक वनमा व्यवसायिक टिमुर खेती गरेका म्याग्दी उद्योग वाणिज्य सङ्घले बताएको छ ।
बागलुङ, काठमाडौ, पोखरा, चितवन र मुस्ताङमा यहाँको टिमुर खपत हुने गरेको छ । बजारमा एक पाथी टिमुरको मूल्य १ हजार रुपैयाँसम्म पर्ने गरेको टिमुर व्यवसायी गुमानसिंह विकले जानकारी दिए । औजारको अभावमा कृषकहरूले टिमुरखेतीबाट अपेक्षाकृत लाभ लिन नसकेकाले फल टिप्न उपयुक्त हुने किसिमको औजारको विकास गर्ने तयारी भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत एवम् टिमुर खेतीका विशेषज्ञ चन्द्रमणी सापकोटाले बताए ।