सर्लाही।पछिल्ला वर्षहरुमा किसानको घाँटी अँठ्याएर आफू अनुकूल उखु मूल्य तोक्ने वातावरण बनाउँदै आएका चिनी उद्योगीले यस वर्ष पनि त्यस्तै अडान दोहोर्‍याएका छन्। आगामी सिजनको लागि उखु मूल्य तोक्न आयोजित छलफलमा उनीहरुले मूल्य तोक्ने मापदण्डमै असहमति जनाएका हुन्।
खेतीको लागत निरन्तर बढिरहे पनि पछिल्लो समय उखु किसानले बर्सेनि अघिल्लो वर्षको भन्दा कम मूल्यमा चिनीमिललाई उखु बेचिरहेका छन्। उखु तयार भएपछि बेचिहाल्नुपर्ने प्रकृतिको बाली भएकोले उद्योगीलाई किसानको घाँटी अँठ्याउन सजिलो भएको भुक्तभोगी बताउँछन्।
‘बेलैमा नबेचौं बारीमै सुक्छ, बेचौं मूल्य तोकिएकै हुँदैन,’ सर्लाहीका एकजना उखु किसानले भने, ‘उखु लगेर पेलिसकेपछि उनीहरु माथि पर्छन, अनि उनीहरुकै अडान अनुसार मूल्य तोकिन्छ।’ उखुको मूल्य निर्धारण गर्ने ठोस मापदण्ड नहुँदा उखु किसान बर्सेनि मारमा पर्दै आएका छन्।
३–४ वर्षयता उद्योगी आफ्ना अडानमा अन्तिम समयसम्म कायम रहेर किसान प्रतिनिधिलाई पछि हट्न बाध्य पार्दै आएका छन्। विगत जस्तै चालु सिजनका लागि उखुको मूल्य निर्धारण गर्न किसान प्रतिनिधि र चिनी उद्योगीबीच भएको पहिलो चरणको वार्तामा मूल्य निर्धारणको मापदण्डमै सहमति हुन नसकेको बताइएको छ। उद्योगी र किसान प्रतिनिधिबीच मूल्य तय गर्ने मापदण्डबारे कुरा मिल्न नसक्दा वार्ता टुंगिएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।
‘शुक्रबार साँझ अबेरसम्म काठमाडौंमा चलेको वार्तामा उखुको मूल्य तय गर्ने मापदण्डमै उद्योगीसँग कुरा मिलेन,’ मैनालीले भने, ‘हामीले चिनीको मूल्यलाई आधार मानेर उखुको मूल्य तोक्नुपर्छ भन्यौं उनीहरु त्यो मान्न तयार भएनन्।’
मैनालीका अनुसार उद्योगीले भारतको रिगास्थित चिनी उद्योगले दिने मूल्यलाई आधार मान्नुपर्ने तर्क गरेका छन्। किसान भने भारतमा उखु किसानले अनुदान पाउने हुँदा रिगाको मूल्यलाई आधार मान्दा आफूहरुलाई मर्का पर्ने बाउँछन्। विगत ३ वर्षदेखि चिनीको मूल्यका आधारमा उखुको मूल्य तय हुँदै आइरहेकाले यसपटक पनि त्यसैलाई आधार मान्नुपर्ने किसान प्रतिनिधिको अडान छ।
गत वर्ष उद्योगीले चिनीको मूल्य प्रतिकिलो ५० रुपैयाँलाई आधार बनाएर उखुलाई प्रतिक्विन्टल ३ सय ९६ रुपैयाँभन्दा बढी दिन मानेनन्। चिनीमा पाइने भ्याट फिर्ता ५२ रुपैयाँ थपेर प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँका दरले किसानले पाएका थिए। यस वर्ष उद्योगबाटै चिनी प्रतिकेजी ७० रुपैयाँमा बिक्री भइरहेकाले उखुको मूल्यमा पनि गत वर्षको तुलनामा ४० प्रतिशत वृद्धि हुनुपर्ने अडान किसान प्रतिनिधिले लिएको अध्यक्ष मैनालीले बताए।
उद्योगपति हरेक वर्ष आफू अनुकूल मापदण्डका आधारमा मूल्य तय गरेर उखु किसानलाई ठग्ने दाउमा लागिरहेको किसान प्रतिनिधिको आरोप छ। शुक्रबार झन्डै ५ घन्टा चलेको वार्तामा सर्लाही, महोत्तरी, बारा, सुनसरी, मोरङ, नवलपरासी जिल्लाका किसान प्रतिनिधि र चिनी उद्योगका सञ्चालकको सहभागिता थियो।