ताप्लेजुङ।भारत सरकारले पाँच सय र हजार रुपैयाँका भारु नोट चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालको पूर्वी क्षेत्रमा अलैंचीको कारोबार ठप्प भएको छ । भारुमा रोक लागेसँगै बुधबारदेखि नेपाली बजारमा अलैंचीको कारोबार हुन नसकेको व्यवसायीले बताएका छन् ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार बुधबारदेखि अलैंचीको भाउ शून्यको अवस्थामा छ । भारतीय बजारमा भारु पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लागेपछि अलैंचीको कारोबार हुन नसकेको र यसबाट सम्पूर्ण अलैंची कृषक र व्यपारी अन्योलमा परेको उनको भनाइ छ । नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो ।
भारतका अलैंची व्यापारीले हालको स्थितीमा अलैंची खरिद गर्न नसक्ने बताएपछि अलैंचीको कारोबार ठप्प भएको र नेपालका व्यवसायीले पनि अलैंचीको भाउ तोक्न नसकेका कारण यसको सम्पूर्ण कारोबार ठप्प हुन गएको भट्टराई बताउँछन् ।
नेपालमा उत्पादित अलैंची कच्चा पदार्थका रूपमा भारत निकासी हुने गर्छ । भारतीय बजारले नेपाली अलैंचीको भाउ निर्धारण गर्छ । भारतीय व्यवसायीले तोकेको मूल्यमा नेपाली अलैंचीको बिक्रीवितरण गरिन्छ । तर भारुका ठुला नोटको प्रतिबन्धसँगै भारतीय व्यवापारीहरूमा छाएको अन्योलताले नेपाली अलैंचीको निर्यातमा असर परेको छ । अलैंचीको सम्पूर्ण कारोवार ठप्प भएपछि खासगरि पूर्वी नेपालका अलैंची कृषकहरू समस्यामा परेका छन् ।
भरियालाई बोकाएर अलैंची बेच्नको लागि ताप्लेजुङ बजार आएका ताप्लेजुङ इखावुका कृषक आइतबहादुर लिम्वुले तीन दिनसम्म पनि अलैंची बेच्न सकेका छैनन् । बगानबाट अलैंची टिपेर महिनादिनको मिहिनेतपछि बिक्रीका लागि ल्याएका अलैंचीको भाउ नतोकिदिएपछि उनी भाउ पर्र्खिएर सदरमुकाममै बसिरहेका छन् । अलैंची नविकेका कारण भरियालाई ज्याला दिनसमेत नपाएको उनको गुनासो छ ।
उनीमात्र नभई गाउँबाट अलैंची लिएर आएका सयौं किसान अन्योलतामाझ उचित बजारभाउको पर्खाइमा बसेका छन् ।अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालका अनुसार तीन दिनअघिसम्म अलैंची प्रतिमन (४० केजी) ५२ देखि ५५ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको थियो । तर भारु नोटमा लगाइएको प्रतिबन्धसँगै भारतीय व्यपारीले अलैंची खरिद नगरिदिंदा आफूले पनि कृषकबाट अलैंची किन्न नसकेको उनको भनाइ छ । भारु नोट प्रतिबन्धको प्रत्यक्ष असर नेपाली अलैंचीमा परेको बताउँदै उनले यो अन्योलता किनारा नलागेसम्म अलैंची खरिद नगर्ने निर्णय अलैंची व्यवसायी संघले गरिसकेको पनि जानकारी दिए ।
कालो सुनको उपनामले परिचित अलैंची सबैभन्दा धेरै विदेशी रकम भित्र्याउने नगदेबाली हो । सरकारले निर्यात प्रवद्र्धनका लागि तयार पारेका १९ वटा तुलनात्मक लाभका वस्तुमा अलैंची अग्रस्थानमा छ । यतिखेर अलैंची किनबेचको मूख्य सिजन हो । पूर्वका विभिन्न बजारबाट संकलित अलैंची बिर्तामोड, धुलावारी, विराटनगर हुँदै भारतीय बजारमा पुग्छ । त्यहाँबाट बंगलादेश, पाकिस्तान र खाडी मुलुकमा नेपाली अलैंची पुग्ने गरेको छ । तर नेपाली अलैंची विश्वका विभिन्न बजारमा पुगे पनि सिधै निर्यात गर्न नसक्दा नेपालका अलैंची कृषक र व्यपारीलाई भारतीय बजारमै निर्भर हुनुपर्ने वाध्यता अझै पनि कायमै छ ।
नेपालमा उत्पादन हुँदै आएको अलैंची पछिल्लो समय आफ्नै ट्रेडमार्कमा बिक्री तथा निकासी हुन थालेको छ । एभरेष्ट विक कार्डाममको ट्रेडमार्कमा नेपाली अलैंची निकासी हुन थाले पनि नेपाली अलैंचीको बजार मूल्य हालसम्म पनि भारतीय व्यापारीकै मुखमा रहेकाले नेपालका अलैंची उत्पादक र व्यवसायीहरू समस्यामा पर्ने गरेको अलैंची व्यवसायीको भनाइ छ ।
व्यापार रोकियो
विर्तामोड। भारतमा पाँच सय र एक हजारका नोटको सट्टामा अन्य नोटको व्यवस्था नहुन्जेल नेपालमा उत्पादित अलैंचीको व्यापारसमेत रोकिएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । महासंघले शनिबार झापाको विर्तामोडमा पत्रकार सम्मलेन गर्दै करिब एक महिनासम्मका लागि अलैंची किनबेच नगर्न किसान तथा व्यवसायीलाई आग्रह गरेको छ ।
भारतमा पाँच सय तथा एकहजारका नोटमा प्रतिबन्ध लागेपछि विगत तीन दिनदेखि भारतमासमेत अलैंचीको किनबेच नभएको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । उनले भने, ‘तीन दिनदेखि भारतमा न कुनै व्यापारीले अलैंचीको भाउ खोलेका छन् न उनीहरूको व्यवसाय नै खुलेको छ ।’
उनले पहाडमा अलैंचीको व्यापारबारे अहिले विभिन्न खाले हल्ला फिँजिएको हुनाले त्यस्तो हल्लाकोपछि नलाग्न किसानलाई आग्रह गरे । उनले अहिले अलैंची किसान र व्यवसायीलाई भारतमा पाँच सय र एक हजारका नोटको विकल्प नबन्दासम्म करिब एक महिनाका लागि अलैंची ‘होल्ड’ गरेर राख्न अनुरोध गरेका छन् ।
‘अब अलैंची बिक्दैन, अहिलेको भाउ एक मनको दस हजारमात्र हो’ जस्ता अफवाह फैलाएर अलैंची खरिद गर्नेको पछि नलाग्न अध्यक्ष भट्टराईले आग्रह गरे । उनले त्यस्तो हल्ला लिएर मानिसहरू किसानकहाँ जान थालिसकेको बताए । भट्टराईले भने, ‘एक महिनासम्मका लागि किसानलाई नआत्तिन आग्रह गर्दछु ।’
भारतका अलैंची मन्डिहरू नखुलेकाले वर्तमान अवस्थामा नेपालमा मूल्य यकिन गर्न गाह्रो हुने नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारी बताउँछन् । नेपालमा वार्षिक करिब पाँच हजार मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ जसको ९८ प्रतिशत भारत निर्यात हुन्छ । नेपालमा करिब दुई लाख घरपरिवार अलैंची खेतीमा संलग्न रहेको अनुमान गरिएको छ । अलैंची खेतीको विस्तार अहिले १७ वटा जिल्लामा भइसकेको छ । अन्य जिल्लामासमेत यो विस्तार हुने क्रममा छ ।