बिल अधिकारी
चितवन । खेतीयोग्य जमिनको अनियन्त्रित खण्डीकरणका साथै मानववस्तीको तीव्र विकासका कारण खेतीयोग्य जमिनहरु मासिँदै गएपछि चितवन मा खाद्यान्न उत्पादनमा कमी आएको छ ।
जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले हाल जिल्लामा खाद्यान्न बचत रहे पनि यही गतिमा वस्तीको विकास, सिंचाईको अभाव र जमिनको खण्डीकरण नरोकिए खाद्यान्नमा परनिर्भर हुनुपर्ने स्थिति आउने निश्चित भएको बताए । जिल्ला कृषि विकास कार्यालय चितवनले ३६औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आर्थिक वर्ष २०७२/०७३ को उत्पादन तथ्यांकअनुसार चितवन जिल्लामा करिब पाँच हजार १७१ मेट्रिक टन खाद्यान्न बचत रहेको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिलेसम्म जिल्लाको खाद्य आवश्यकतालाई जिल्लाभित्रकै उत्पादनले पु¥याउन सके पनि यही गतिमा जनसंख्या वृद्धि, जमिनको अनियन्त्रित खण्डीकरण र सिंचाईको सुविधा उल्लेखनीय रुपले बढ्न नसक्ने हो भने आगामी वर्षहरुमा चितवन जिल्ला अन्य जिल्ला वा बाहिरी मुलुकहरुसँग परनिर्भर हुनुपर्ने बाध्यता देखिन्छ ।’
‘जिल्लाको खाद्यान्नको आत्मनिर्भरतालाई कायम राखिराख्नका लागि वैज्ञानिक भू–उपयोग यथावत र आधुनिक खेती प्रणालीमार्फत प्रतिइकाई जमिनको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता हो,’ उनले भने । यस्तो अवस्थामा भूमिसुधार प्रणाली लागू हुन नसक्नु, जमिनको उर्वराशक्तिमा ह्रास आउनु, कृषि श्रमिक विदेश पलायन हुनु, मौसमको उच्च जोखिम, मल बीऊको उचित व्यवस्थापन र वितरण हुन नसक्नुजस्ता कारणले नेपालको कृषि पेसा सम्मानित पेसाको रुपमा स्थापित हुन नसकेको उनले बताए ।
यस क्षेत्रमा राजनैतिक दल, विभिन्न सामाजिक संघसंस्था, सरकारी तथा गैरसरकारी संघसंस्थाबीच सहकार्य गदै आवश्यक रणनीति तयार गरी उचित श्रोत साधनको परिचालन गर्न सके आशातित प्रतिफल प्राप्त गर्न सकिने उनको भनाइ छ । पछिल्लो केही वर्षयता तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनका कारण खाद्य उत्पादनमा ठूलो असर पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
तर, अहिलेसम्म चितवनमा व्यावसायिक खेतीपाती गर्नेहरुको संख्या बढ्दै गएकोले हालसम्म चितवन जिल्ला खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनेको जिल्ला कृषि विकास कार्यालय चितवनमा प्राविधिक सहायक विष्णुप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला कृषि विकास कार्यालय चितवनमा दर्ता गरी व्यावसायिक रुपमा खेतीपाती गर्ने कृषक समूहहरुको संख्या साँढे ७ सयभन्दा धेरै पुगिसकेका छन् । अझ दर्ताबाहेकका कृषि फर्महरुको संख्या धेरै रहेको उनको भनाइ छ ।
यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले कृषकहरुकै कारण चितवन जिल्ला खाद्य उत्पादनको क्षेत्रमा अगाडि रहेको बताए । ‘खाद्य उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिनुमा यहाँका कृषकहरुको मह¤वपूर्ण हात छ,’ प्रजिअ सिंहले भने । बरु जिल्ला कृषि विकास कार्यालय तथा कृषिसँग सम्बन्धित विभिन्न संघसंस्थाले अझ यस क्षेत्रको विकासको लागि के गर्न आवश्यक छ, त्यसबारे सल्लाह, सुझाव दिन प्रजिअ सिंहले किसानहरुलाई आग्रह गरे ।‘किनकि चितवनका किसानहरुबाट कृषिविज्ञहरुले धेरै कुरा सिक्न सक्छन्,’ उनले भने, चितवनका कृषकहरु कृषिविज्ञभन्दा पनि विज्ञ छन् । बढ्दो जलवायु परिवर्तनका कारण खेतीपातीमा प्रतिकूल असर परे पनि चितवनका कृषकहरुले अहिलेसम्म जिल्लाको उत्पादनलाई जोगाइराखेको उनले बताए ।
विश्वका ७९ करोड ३० मानिसहरु भोकमरीको चपेटामा रहेका छन् । नेपालका ८० प्रतिशतभन्दा बढी जनता प्राकृतिक प्रकोप र जलवायु परिवर्तनजन्य जोखिममा रहेका छन् ।
खाद्य दिवसमा ५५ जना सम्मानित
जिल्ला कृषि विकास कार्यालय चितवनले ३६औँ विश्व खाद्य दिवसको अवसरमा विभिन्न विधामा ५५ जनालाई सम्मान गरेको छ ।
कात्तिक १२ गते कार्यालयले आयोजना गरेको अन्तरमावि निबन्ध प्रतियोगितामा बिजेता बन्न सफल विद्यार्थीसहित राष्ट्रपति उत्कृष्ट पुरस्कार, उत्कृष्ट प्राविधिक सहायक र नायब प्राविधिक सहायक, ज्येष्ठ कृषक सम्मान कार्यक्रम, अन्तरकृषक समूह प्रतियोगिता, बढी माछा उत्पादन प्रतियोगिता, तरकारी बाली प्रतियोगिता, सुन्तला जात फलफूल बगैँचा प्रतियोगिता र सक्रिय कृषक समूह सदस्य प्रतियोगिता गरी ५५ जनालाई शुक्रबार सम्मान गरिएको हो ।
उनीहरुलाई प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह र स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले संयुक्त रुपमा टीका, नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
मेड नेपाल, फरवार्ड र सेकार्ड नेपालको संयुक्त सह–आयोजनामा भएको कार्यक्रममा किसानहरुले आवश्यक मात्रामा मल, बीऊ पाउन नसकेको गुनासो गरे । ‘सरकारले मल बीऊ उपलब्ध गराउँदा किसानहरुको आवश्यकतालाई हेरेर वितरण गरे राम्रो हुन्थ्यो,’ ज्येष्ठ कृषक सम्मान कार्यक्रमबाट सम्मानित कृषक कृष्णप्रसाद अर्यालले भने ।
किसानहरुका लागि कृषि विकास बैँकबाट ऋण पाउने व्यवस्था भए पनि सहज ढंगले ऋण नपाएको उनले गुनासो गरे । यस विषयमा कृषि विकास कार्यालय र संबन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनले बताए ।
यस्तै मौरी पालनमा चितवन जिल्लामा आवश्यक चरन क्षेत्र नभएकोले पेसा नै धरापमा परेको मौरीपालक कृषकहरुले बताएका छन् । राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित मौरीपालक किसान गीता देवकोटाले चितवन जिल्लामा उचित चरन क्षेत्र नभएकैले अन्य जिल्लाहरुमा चराउन लैजाँदा लाखौँ रुपैयाँ घाटा व्यहोर्नु परेको बताइन् ।केही दिनअघि दाङमा भएको घटना मौरीपालक किसानहरुका लागि दुःखदायी भएको भन्दै चितवन जिल्लाभित्रै चरन क्षेत्र भएको भए यस्ता घटना नहुने उनको भनाइ छ । खासगरी नेपाली जनमानसमा तोरी बारीहरुमा मौरी चराउँदा फल कम लाग्छ भन्ने भ्रमका कारण मौरीपालन व्यवसायले गति लिन नसकेको उनी बताउँछिन् । ‘यसका लागि सरोकारवाला व्यक्ति तथा निकायहरुले जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी जनचेतना जगाउन आवश्यक छ,’ उनले भनिन् ।
कृषि विकास समितिका अध्यक्ष श्रवणकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषिसँग सम्बन्धित जिल्लाका विभिन्न संघसंस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो । यसअघि जिल्ला कृषि विकास कार्यालयले शान्तिपूर्ण ¥यालीसमेत निकालेको थियो ।