धनगढी। कृषि विकास कार्यालय कैलालीले यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन कृषकलाई शुक्रबार पुरस्कृत गरेको छ । विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा धनगढी बोराडाँडीका कुखुरापालन व्यवसायी विवेक भट्ट, कैलाली सुगरखालका फलफूल खेतीमा संलग्न नवलसिंह रावल र तरकारी खेतीमा संलग्न अत्तरिया नगरपालिका–१२ गेटीका मन्त्री रानालाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु १० हजार र प्रमाणपत्र छ ।
सो अवसरमा पुरस्कार वितरण गर्दै प्रजिअ गोविन्दप्रसाद रिजालले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले कृषिको व्यवसायीकरणका लागि जागरुक बन्न कृषकलाई आग्रह गर्नुभयो ।
निबन्ध प्रतियोगी पुरस्कृत
विश्व खाद्य दिवसका अवसरमा गरिएकोे निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।प्रतियोगितामा ऐश्वर्य विद्या निकेतनका हरिनाथ प्रथम, पञ्चोदय माविका नवराज भाट द्वितीय, ग्यालेक्सी माविका इशान जोशी तृतीय तथा ज्योति इङ्लिस स्कुल र सिद्धार्थ शिशु सदनका प्रेक्षा धामीले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।‘खाद्य अधिकार’ विषयको उक्त प्रतियोगितामा प्रथमलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार ५०० र तृतीयलाई रु एक हजार तथा सान्त्वना स्थान हासिल गर्नेलाई रु आठ आठ सय पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा पुरस्कृत कृषकले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।