वीरगन्ज । बारा जिल्लाको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान परिषद्मा अनुसन्धानका लागि राखिएको टर्कीचरा चोरी भएको लामो समय बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएको छ ।
टर्कीचरालाई दाना खुवाउँदा फाइदा हुने र रोगसम्बन्धी अनुसन्धानका लागि परिषद्मा राखिएको नौवटा टर्कीचरा चोरी भएको लामो समय बितिसक्दा पनि सो सम्बन्धमा प्रहरीले हालसम्म अनुसन्धान नगरेकाले यसमा राखिएका अन्य चरा असुरक्षित बन्दै गएको आरोप कृषि अनुसन्धान परिषद्अन्तर्गत रहेको कुखुरा अनुसन्धान इकाईका वैज्ञानिक अजित झाले बताउनुभयो ।
टर्कीचराको मासु सेतो हुने भएकाले यसले स्वास्थ्यलाई फाइदा पु¥याउने हुँदा अहिले यसको माग बढ्दै गएको छ । नेपालमा सबभन्दा पहिले क्षेत्रीय कृषि अनुसन्धान परिषद्बाट टर्कीचराको उत्पादन र अनुसन्धान सुरु गरिएको भएपनि असुरक्षाको कारण यो चराको चोरी बारम्बार हँुदै गएको बताइएको छ ।
असुरक्षाका कारण अघिल्लो वर्ष पनि ६ वटा टर्कीचरा चोरी भएको थियो । यस सम्बन्धमा जिज्ञासा राख्दा परिषद्का क्षेत्रीय निर्देशक तुफैल अकतरले सो बारे जिल्ला प्रशासन कार्यलय, बारा तथा इलाका प्रहरी कार्यालय, सिमरालाई लिखित जानकारी गराउँदा पनि हालसम्म उपलब्धि हुन नसकेको बताउनुभयो ।
स्वास्थ्यका लागि यसको मासु फाइदाजनक हुने भएकाले यसको चोरी बढ्न गएको त्यहाँका कर्मचारी बताउँछन् । प्रहरीले अनुसन्धान गर्न नसकेकाले परिषद्को हाताभित्र रहेको कालो रङको टर्कीचरासमेत जोखिममा पर्न गएको बताइएको छ । परिषद्कै केही कर्मचारीको मिलेमतोमा परिषद् वरिपरि रहेका गाउँका मानिसले नै टर्कीचरा चोर्ने कार्य गरिरहेको भएपनि प्रहरी मुकदर्शक बनेर बसेका छन् ।