इलाम।इलाममा यसबर्ष १० देखि १५ प्रतिशत धान उत्पादन बढ्ने भएको छ।
यसबर्ष पर्याप्त बर्षा हुनुका साथै गत बर्षको तुलनामा बढी क्षेत्रफलमा धान खेती गरिएकाले उत्पादन बढ्ने अनुमान गरिएको कृषि कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिए। गत बर्ष इलाममा १५ हजार ९ सय हेक्टरमा धान खेती गरिएको थियो। जसमा ४६ हजार ४ सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो। यस बर्ष जिल्लामा १५ हजार ९ सय १५ हेक्टर जमिनमा धानवाली लगाइएको कार्यालयले जनाएको छ।
गत बर्ष जिल्लामा अघिल्लो आर्थिक बर्षको तुलनामा धान उत्पादनमा ८ प्रतिशतले कमी आएको थियो। आर्थिक बर्ष ०७१/७२ मा इलाममा ५० हजार १ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो। जिल्लाको महमाई, चिसापानी, दानाबारी, सोयाक, देउमाइ नगरपालिका, गोदक लगायतका क्षेत्रमा धान खेती बढी गरिन्छ।