म्याग्दी । पहाडी जिल्ला म्याग्दीका किसानहरुलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याई छ । गएको जेठ असार महीनामा आफ्नो खेतमा रोपको धान, भटमास, बारीमा लगाएको कोदो, भाङ्गोलगायतका खाद्यबाली भित्रायाउने चटारोमा किसानहरु लागिपरेका छन् ।
नेपालीहरुको महान् पर्व वडादशैं तथा तिहारदेखि किसानहरुले बाली भित्र्याउन शुरु गरेका थिए । असोजदेखि मङ्सिरसम्मको समय उनीहरुका लागि अत्यन्त व्यस्त समय हो । खासगरी कृषकहरुको मुख्य खाद्यबाली धान काट्ने, उठाउने, कुन्यू लगाउने र दाँई हाल्नेजस्ता काममा व्यस्त देखिएका छन् । आफूहरु धानबाली भित्र्याएलगत्तै प्रमुख हिउँदेबाली गहुँ, जौ, तोरी, उवालगायतका बाली लगाउन लागेको किसानहरु बताउँछन् ।
उच्च पहाडी भेगका कृषकहरु धानबाली भित्रायाएर कोदो काट्न लागेको छन्भने यसपाली मौसम अनुकुल भएका कारण उत्साहित भएको चिप्लेटीका किसान टेकबहादुर कार्कीले बताए । बाली लगाउने, स्याहारसुसार गर्ने र भित्र्याउने बेलामा गाउँगाउँमा अर्मपर्म तथा पालो लगाउने चलन रहेको छ । खासगरी युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा देशविदेश तथा शहर पसेका कारण गाउँमा श्रमिकको अभाव देखिएको छ ।
यसैबीच पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि दाँई हाल्ने, खेतबारी जोत्ने र मल बनाउन गोरुको अभाव झेल्न किसानहरु बाध्य भएका छन् । दशैं शुरु भएलगत्तै म्याग्दीको माथिल्लो क्षेत्रमा वर्षेबाली भित्रायाउन शुरु भएको थियो । कुहुँ, पुलाचौर, घतान, पात्लेखेतलगायतका क्षेत्रका किसानहरुले धानबाली भित्र्याउन लागेका थिए । विगत केही वर्षयता म्याग्दीमा बारीलाई खेत बनाएर धानखेती गर्ने चलन बढ्न थालेको छ भने बारीमा समेत धान रोप्ने गरिँदै आएको छ ।
म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९७ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यस्तै तीनहजार ६२ हेक्टरमा गहुँ, २ हजार ७ सय ४० हेक्टरमा कोदो र नौहजार ८ सय ७२ हेक्टरमा मकैखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गएको वर्ष म्याग्दीमा १२ हजार चारसय ९२ मेट्रिक टन धान उत्पादन भएको थियो भने यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान लगाइएको छ । यसवर्ष समयमै वर्षा परेका कारण धान उत्पादन बढ्ने हुँदा किसानहरु खुशी देखिएका छन् ।
जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायतका गाविसहरुमा धानखेती हुँदै आएको छ । हिमाली गाविस गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुन नसक्ने बताइएको छ । म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ लगायत लोकल जातका धानहरु रोप्ने गरिन्छ ।