पाल्पा । जिल्ला कृषि विकास कार्यालय पाल्पाले १० जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
कार्यालयले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारतर्फ मदनपोखराका नगेन्द्रराज पाण्डे, रामपुरका सूर्यप्रसाद रेग्मी र पोखराथोकका लेखनाथ गैरेलाई पुरस्कृत गरेको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले प्रतिव्यक्ति नगद रु १० हजार, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कृत कृषकलाई सम्मान गर्नुभयो ।
त्यस्तै जिल्लाका उत्कृष्ट कृषकतर्फ तानसेन–११ का माछापालक कृषक महेश्वर पन्त, देउरालीका मकै बीउ उत्पादक कृषक विष्णु नेपाल, खस्यौली–४ का तरकारी उत्पादक कृषक देवी मल्ल, छहरा–५ का सुन्तला जात फलफूल नर्सरी कृषक खिमबहादुर बगाले, तानसेन–९ का कफी उत्पादक कृषक रेवन्त विष्ट, खानीछाप–९ का मौरीपालक कृषक धर्मराज अधिकारी र मदनपोखरा–४ का सिताके च्याउ उत्पादक कृषक ओमप्रकाश श्रेष्ठलाई नगद रु एक हजार, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यालयले उत्कृष्ट कर्मचारीतर्फ प्रथम कृषि सम्पर्क केन्द्र दोभानमा कार्यरत कर्मचारी नायब प्राविधिक सहायक पदमलाल घिमिरे र द्वितीय कृषि सेवा केन्द्र खस्यौलीका प्राविधिक सहायक लवकुशप्रसाद कुर्मीलाई क्रमशः नगद रु पाँच हजार र रु तीन हजार र सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ ।
छत्तीसौँ विश्व खाद्य दिवसको अवसरमा ‘भइरहेछ जलवायु परिवर्तन, गर्नुछ छाप दिएर कृषिमा अनुकूलन’ नामक शीर्षकमा भएको माविस्तरीय निबन्ध प्रतियोगितामा प्रथम नमुना जनता मावि तानसेनकी सृष्टि गैरे, द्वित्तीय सिद्धि उच्च मावि आर्यभञ्ज्याङकी अङ्किता गाहा, तृत्तीय दमकडा मावि मदनपोखराका सन्दिप थापा (नेत्रविहीन) र सान्त्वना विष्णु माध्यमिक विद्यालय पोखराथोकका शरणकुमार रायमाझीलाई क्रमशः रु दुई हजार, रु एक हजार ५००, रु एक हजार र रु ८०० र साथमा प्रमाण पत्र वितरण गरिएको योजना शाखाका प्राविधिक ज्ञानकुमार यादवले जानकारी दिनुभयो । सोही प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई किसान परियोजना पाल्पाले कापी, कलम र डायरी प्रदान गरेको छ ।वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकको आकर्षण बढ्ने बताउनुभयो ।