नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो ।
सम्मानित हुनेमा रामग्राम–१ का सनन्दन चौधरी, कुश्माका राजेन्द्र पटेल र रुचाङका खगराज गौतम रहनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा बुधबार परासीमा आयोजित कार्यक्रममा ती किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले सम्मान गर्नुभएको हो ।
राष्ट्रपति पुरस्कार पाउन सफल रामग्राम–१ का किसान सनन्दन चौधरीले समूहमा रहेर विगत १५ वर्षदेखि धान, गहुँको बीउ उत्पादन गर्दै अन्य खेती पनि गर्दै आउनुभएको छ । यो सम्मानले थप हौसला मिलेको उहाँले बताउनुभयो ।
यस्तै, कुश्माका किसान राजेन्द्र पटेलले धान, गहुँ, तोरी, मुसुरो, तरकारी, केरालगायत खेती गर्दै आउनुभएको छ । समय अनुसारको प्रविधि र खेतीमा जोड दिन तथा लागत कम हुने गरी खेती प्रणाली अपनाउन सकिए सफल भइने पटेलले बताउनुभयो । सम्मानित रुचाङका कृषक खगराज गौतमले दुई वर्षदेखि पशुपालनदेखि कागती, फलफूल, अदुवालगायत खेती गर्दै आउनुभएको छ । विकट क्षेत्रका किसानलाई पनि सम्मान गरिएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोकमा उत्कृष्ट तरकारी खेती गर्ने खतिवडा सम्मानित
कृषिमा जिल्लामै उदाहरणीय काम गरेको भन्दै जिल्ला कृषि विकास कार्यालयले नगद र प्रमाणपत्रसहित मेलम्ची नगरपालिका–१२ का लेखनाथ खतिवडालाई सम्मान गरेको छ । खाद्य दिवसको अवसर पारेर बुधबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी अन्तर सिलवालले नगद रु तीन हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो ।
खतिवडा दुई दशकदेखि मेलम्ची नगरपालिका—१२ शिखरपुरमा आधुनिक कृषि प्रणालीअनुसार तरकारी खेती गर्ने अग्रज कृषकका रुपमा परिचित हँुदै आउनुभएको छ । आधुनिक कृषि प्रणालीअनुरुप स्वदेशमा रही कृषि गर्ने हो भने आफ्नै जन्मभूमिमा राम्रो उत्पादन हुने र यसका साथसाथै देशको आर्थिकस्तर पनि माथि उठ्ने खतिवडाको ठम्याइ छ । आज लाखौँ युवा कामको खोजीमा विदेसिनु दुःखद रहेको भन्दै युवाले समेत आधुनिक कृषिका लागि स्वदेशमा लक्षित हुनुपर्ने खतिवडाले बताउनुभयो ।
उहाँले मौसमी तथा बेमौसमी गरी दुई याममा उत्पादन गरेको काउली, बन्दाकोभी, गोलभेँडालगायत तरकारीबाट वार्षिक रु चार लाखभन्दा माथि आम्दानी हुने जानकारी दिनुभयो ।