सोलुखुम्बु। ‘आलु राम्रै उत्पादन हुन्थ्यो, आलु रोप्ने बेलामा बखप्पलम, साद्धी र सोताङबाट चामल, कोदो बोकेर आलुको बिउ साट्न यहाँसम्म आउँथे । अहिले त्यो जमिनमा चिराइतो लगाएको छु’ सोलुखुम्बुको गुदेल–९ दिम्बुलका ङिमतेम्बा शेर्पाले चिराइतो रोपेको जानकारी यसरी दिनुभयो ।
ङिमतेम्बा जस्तै दिम्बुलका धेरै कृषकले आलु फल्ने जग्गामा चिराइतो उत्पादन गर्न थालेका छन् । दिम्बुलका अर्का कृषक दाली शेर्पा भन्नुहुन्छ– ‘आलु अन्य सामानसँग मात्र साटिन्थ्यो, कमै मात्रामा नगदमा बिक्री हुन्थ्यो, तर चिराइतोबाट राम्रो आम्दानी हुन थालेको छ ।’आलुको मूल्यभन्दा चिराइतोको मूल्य धेरै राम्रो हुने भएकोले अहिले यस क्षेत्रका किसान त्यसतर्फ आकर्षित भएको चिराइतो लगाउनुभएका अर्का किसान सोनाम शेर्पाले बताउनुभयो । ‘यसपाली झण्डै ७ मन जती चिराइतो उत्पादन भएको छ ।’ बजार मूल्य अनुसार एक लाख १२ हजार रुपैयाँ बराबरको आम्दानी हुन्छ । आलु उत्पादनलाई निरन्तरता दिएको भए १५ हजार रुपैयाँको आलु बिक्री गर्न मुस्किल प¥थ्यो’ उहाँले भन्नुभयो । त्यस्तै ङिमतेम्बा शेर्पाको झण्डै १५ मन चिराइतो उत्पादन भएको छ । प्रति मन १६ हजार रुपैयाँका दरले बिक्री हुने भएकोले यस वर्ष दुई लाख ४० हजार बराबरको चिराइतो उत्पादन भएको उहाँले बताउनुभयो ।
त्यस्तै दिम्बुलका ङिमा शेर्पाका अनुसार आलुको तुलनामा चिराइतोले धेरै फाइदा दिएको छ । चिराइतोलाई जंगली जडिबुटीको रुपमा बुझेका दिम्बुलबासीलाई स्थानीय नव ज्योति युवा मञ्चले घरमा उत्पादन गर्नको लागि जनचेतना, तालिम र प्रविधि दिएपछि सबैले आलु फल्ने जग्गामा चिराइतो उत्पादन गर्न थालेका हुन् ।नव ज्योति युवा मञ्चले चिराइतो रोप्ने तरिका सिकाएको थियो भने जि फाउण्डेशनले अनुदानमा बिउ बितरण गरेको थियो ।