पर्वत। जिल्ला कृषि विकास कार्यालय पर्वतले १० टन आलुको बीउ वितरण गरेको छ । धान र कोदो थन्क्याइसकेपछि हिउँदे खेती गर्न कार्यालयले किसानलाई आलुको बीउ वितरण गरेको हो ।जिल्लाका विभिन्न गाविसका कृषकलाई ढुवानी अनुदानमा आलुको बीउ वितरण गरिएको हो । स्याङ्जाको गल्याङ क्षेत्रमा उत्पादित आलु बुटवलबाट ढुवानी अनुदानमा कृषकलाई उपलब्ध गराइएको हो ।
कृषकलाई प्रतिकिलो ६० रुपैयाँका दरले आलुको बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । जनक जातको उक्त आलुका बीउ पर्वतको हावापानीमा उपयुक्त हुने र सहजै उत्पादन लिन सकिने भएकाले कृषकको मागअनुसार ढुवानी अनुदानमा ल्याइएको हो ।
उच्च पहाडीबाहेकका अन्य गाविसमा हिउँदे आलुखेती हुँदै आएको छ । जिल्लाको पाङ, खुर्कोट, नाङलीवाङ, धाइरिङ, कटुवाचौपारी, ठूलीपोखरी, पिपलठारी, खौलालाकुरी, फलेवास क्षेत्र, बर्राचौर, हुवास, त्रिवेणीलगायतका तीन दर्जनभन्दा बढी गाविसमा हिउँदे आलुखेती हुँदै आएको छ ।
चालु आर्थिक वर्षमा भने पर्वतमा आलुको उत्पादनमा गिरावट आएको छ । अघिल्लो वर्षको हिउँदमा परेको लामो खडेरीका कारण आलु उत्पादनमा झन्डै ५० प्रतिशतले कमी आएको हो ।पर्वतमा १ हजार ६ सय ५० हेक्टरमा आलुखेती हुँदै आएको छ । त्यसबाट २३ हजार २ सय ५० टन उत्पादन हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए ।
पर्वतमा उत्पादित आलु पोखरा, काठमाडौं, नारायणगढसम्म पुग्ने गरेको छ । उत्तरी क्षेत्रका कृषकको मुख्य बाली नै आलु भएकाले प्रत्येक कृषकले वार्षिक रूपमा १ देखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।