म्याग्दी। म्याग्दीको हिदी गाउँका बासिन्दाले अन्न र पशुचौपाया बेचेर सामुदायिक विद्यालय चलाएका छन् । कुहूँ र बाबियाचौरको ९ तथा दरवाङको ४ नं वडामा पर्ने हिदीका बासिन्दाले सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि अन्न र पशुपक्षी बेचेर चन्दा सहयोग गरेका हुन् । हिदीमा सञ्चालित सिद्धशान्ति माविलाई अभिभावकले घरको कोदो, मकै, गहुँ, आलु, तरकारी, कुखुरा, परेवा, बाख्रा र गोरु बेचेर चन्दा सहयोग गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज शेरपुञ्जाले बताउनुभयो ।
अध्यक्ष शेरपुञ्जाका अनुसार १४ जना शिक्षक शिक्षिका कार्यरत विद्यालयमा निजी स्रोतका पाँचजनाको तलब र तल्लो तहको दरबन्दी भई माथिल्लो तहमा पढाउने शिक्षकको भत्ता भुक्तानी गर्न चन्दा र सहयोगलाई प्रमुख आयस्रोत बनाइएको छ । हाल एक सय ८० जना विद्यार्थी अध्ययनरत विद्यालयले प्रत्येक अभिभावकबाट वार्षिक रुपमा चार हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म सहयोग उठाउने गरेको छ । विदेशमा गएकाले उपलब्ध गराउने चन्दा पनि विद्यालयको आयस्रोत हो ।
यसैगरी, शिक्षक र विद्यार्थीले तीन रोपनी बारीमा आलुखेती पनि गरेका छन् । आर्थिक रुपमा विपन्न र न्यून आयस्रोत भएका अभिभावकले पनि ज्याला मजदुरी गरेर अथवा अन्न र पशुपक्षी बेचेर विद्यालयलाई सहयोग गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि मासिक ७५ हजार रुपैयाँ समुदाय स्तरबाट जुटाउने गरिएको छ । प्रावितहसम्मको मात्र दरबन्दी स्वीकृत रहेको उक्त विद्यालयले विसं २०६७ देखि मावि तहको पठनपाठन सुरु गरेको थियो । गाउँमै मावि तहको पठनपाठन हुन थालेपछि भौगोलिक रुपमा विकट हिदी गाउँका बालबालिकाको शिक्षामा पहुँच बढेको छ । गाउँमा मावि नहुँदा दैनिक तीन घन्टा हिँडेर कुहूँ, बाबियाचौर पुग्नुपर्ने, डेरा लिएर बस्नुपर्ने र पढाइ नै छाड्नुपर्ने अवस्था थियो ।
पढ्नका लागि गाउँ छाडेर जाँदा हुने खर्च र दुःख सम्झिएर अभिभावकले विद्यालयलाई सहयोग गरेको प्रअ होमनाथ पाण्डेले बताउनुभयो । “सरकारले मावि खोल्न अनुमति दियो, शिक्षक दिएको छैन, गाउँको आवश्यकता पनि हो,” प्रअ पाण्डेले भन्नुभयो – “घर छाडेर पढ्न जाँदा र पढ्नै नपाउनुभन्दा घरकै आटापीठो खाएर पढ्न पाउँदा विद्यार्थी र अभिभावकलाई राहत मिलेको छ ।”
समुदायको पहलमा सञ्चालित उक्त विद्यालय शैक्षिक र सिकाइ उपलब्धिका हिसाबले भने जिल्लामै अगाडि छ । दुई वर्ष प्रवेशिका परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको विद्यालयको समग्र सिकाइ उपलब्धि सरदर ८५ प्रतिशत छ । विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण विधि, प्रविधि र शिक्षण सहयोगी सामग्रीको प्रयोग, व्यावहारिक अभ्यास र बालमैत्री वातावरणमा जोड दिँदै आएको छ ।