काभ्रे । जिल्लाको डाँडापारी भनेर चिनिने गाविसहरूमा व्यवसायिक कफी खेती गर्ने बढेका छन् ।खासै उब्जनी नहुने जग्गाहरूमा लगाइएको कफी खेती यहाँका कृषकहरुको आम्दानीको स्रोत बनेको छ ।मिल्चे गाविसका कृषक लोकबहादुर तामाङले यो बर्षको कफिको उत्पादनले साह्रै खुशी भएको बताउनुभयो । करिब डेढ दशक अगाडिदेखि आफ्नो पाखोबारीमा गर्दै आएको कफी खेतीले अहिले सम्मकै राम्रो उत्पादन र भाउ पाएकोमा उहाँ खुशी भएको बताउनुहुन्छ । यो बर्ष मात्रै उहाँले एक लाख मूल्य बरावरको कफी उत्पादन गरे बिक्री गरेको बताउनुभयो । तामाङ भन्नुहुन्छ “पोहोरको बर्ष ५० हजारको आम्दानी गरेको थिए, अहिले त उत्पादन पनि बढि भएको छ ” ।
मिल्चेका उहाँ जस्तै करिब दुई सय भन्दा वढि कफि खेती गर्ने कृषकहरु छन् । न्युनतम दशहजारदेखि वढिमा दुई लाखसम्म वार्षिक आम्दानी कफी खेतीबाटै लिने कृषकहरूको संख्या यहाँ धेरै छ । मिल्चे मात्र होइन , जिल्लाको साल्धारा, फलामेटार, बुढाखानी, बनखुचौर, घर्तीछाप, साल्मेचाक, देउपुर, महादेवस्थान, चण्डेनीमण्डन, जैशिथोक, पाँचखाल, ज्याम्दी, अनेकोट, च्याम्राङ्गवेशी लगायत २ दर्जन भन्दा वढि गाविसका करिव चार हजार कृषक अहिले प्रत्यक्ष रुपमा कफि खेती तिर लागेका छन् ।
काभ्रेमा बार्षिक ४५ मेट्रिटन कफी उत्पादन हुँदै आएको छ । जिल्ला कफी व्यवसायी संघका अध्यक्ष होमराज गिरी यो बर्ष कफीको उत्पादन बढ्ने बताउनुहुन्छ ।
“नयाँ विरुवाले पनि फल दिन थालेका छन्, यो बर्ष डेढ टन उत्पादन बढ्ने अनुमान गरेका छौँ । ” गिरीका अनुसार, काभ्रेमा १ सय ५० हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ ।
एकपटक रोपेपछि पटक–पटक रोपिरहनु नपर्ने, नियमित सिंचाई र मलको आवश्यकता नपर्ने आदि कारणले गर्दा कफि खेतीगर्न सजिलो छ ।
नगदे बाली कफी अहिले जिल्लाका सुख्खा डाँडाहरूमा लटरम्म फलेका छन् । वर्षमा दुई पटक आम्दानी लिन सकिने कफी खेती गरिएको जग्गामा घुसुवा बालीका रुपमा अदुवा, हलेदो , तथा अन्य तरकारीहरु पनि रोप्न सकिन्छ । जसले गर्दा एउटै जग्गाबाट दोहोरो उत्पादन गर्न सकिने किसानहरू बताउँछन् ।
‘शुरुमा त कफिको पनि खेती गरिन्छ र जस्तो लागेको थियो । कफी कृषक गोपालकृष्ण सापकोटा भन्नुहुन्छ– “अब त कफी खेती नै हाम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । ” विगतको भन्दा रोग पनि कम देखिएकोले पनि किसानले यो बर्ष कफि खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
कफि खेती नगर्दाका दिनहरु यहाँका कृषकहरुका लागि अत्यन्त कष्टकर थिए । सामान्यरुपमा घर चलाउन पनि आर्थिक समस्या पर्ने गरेको थियो । उत्पादित कफिलाई बजारको पनि समस्या छैन । यसले गर्दा अझ सजिलो भएको कृषकहरू बताउँछन् । कफिको उत्पादन वढे पछि गाउँ–गाउँका कृषकहरु आफैं संगठित भएर विभिन्न समुहहरु खोलेका छन् । यस्ता समुहहरुले उत्पादित कफिहरु कृषकहरुलाई उचित मूल्य दिएर संकलन गर्छन् । समुहहरूले संकलन गरेका कफिहरु जिल्ला कफी विकास समितिले खरिद गरिदिएर कृषकहरुलाई सजिलो बनाइदिएको छ ।
जिल्लामा उत्पादित कफि जिल्लाका अतिरिक्त राजधानी लगायत देशका विभिन्न शहरहरुका साथै विदेश समेत निर्यात हुने गरेको छ । किसानहरुले उत्पादित कफि मात्र नभएर यसका विरुवाहरु पनि तयार गरेर बेच्ने गरेका छन् । यसबाट पनि राम्रै आम्दानी हुने गरेको कृषकहरु बताउछन । दोमट बलौटेमाटो,प्रर्याप्त चिस्यान ,छहारी रुख प्रङ्गारिक मलको प्रयोग कफी खेतिका लागि आवश्यक पर्ने भएकोले पहाडी हावापानी उपयुक्न मानिएको छ ।
हिमाली देश,चिसो हावापानी ,जंगली वातावरणमा सानाकिसानले उत्पादन गरेको कफीकै आधारमा नेपाली कफीको माग उच्च रहेको र त्यस संगै प्राङ्गारिक प्रमाणीकरण भए पछि दिगो मूल्यमा कफी विक्री गर्न सकिने निर्यातकर्ता व्यपारीहरु बताउँछन् । कफी विकासका लागि उचित सरकारी नीति निमार्ण गरी साना कृषकहरुलाई यस खेति तर्फ प्रोत्साहन गर्ने हो भने साना कृषकले पाखाबारीमा उत्पादन गरेको कफी विदेशी बजार पु¥याएर विदेशी मुद्रा आर्जन गरी नेपाल र नेपालीको अयस्तर बृद्धि गर्न सकिने उनीहरु बताउँछन् ।
पछिल्ला दिनहरुमा परम्परागत खेतीबाट टाढिंदै गएका जिल्लाका अधिकांश कृषकहरु अहिले पशुपालन, तरकारीखेती तथा कफि, अम्रिसो लगायतका नगदेबाली तर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि कार्यालयले समेत जिल्लाको डाँडापारीलाई कफी क्षेत्र विशेषका रुपमा अगाडि बढाउन चाहेको बालि विकास अधिकृत थर्क जिसीले बताउनुभयो । खासै अन्नपात नफल्ने यस क्षेत्रलाई कृषि विकास कार्यालयले पकेट क्षेत्रको रुपमा कफि खेती शुरुवात गर्ने योजना बनाएका छौ, उहाँले भन्नुभयो, यसका लागि मन्त्रालयमा समेत जानकारी गराएका छौ ।