तनहुँ। तनहुँको भानु नगरपालिका–४, खातीथोकलाई गोलभेंडाको पकेट क्षेत्रका रूपमा विस्तार गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँले खातीथोकलाई गोलभेंडाको पकेट क्षेत्रका रूपमा विस्तार गर्न लागेको हो ।
खातीथोकमा ०७२ सालदेखि टनेलमा व्यावसायिक रूपमा गोलभेंडा खेती गरिएको छ । यहाँका ३४ जना कृषकले ७४ वटा टनेलमा गोलभेंडाखेती गरी राम्रो आम्दानी गरिरहेका छन् ।खातीथोकमा गोलभेंडाको राम्रो सम्भावना देखेपछि यसलाई पकेट क्षेत्रका रूपमा विस्तार गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए ।
गोलभेंडा राम्रो उत्पादन हुन थालेपछि कृषकले खेतीलाई विस्तारसमेत गर्न लागेका छन् । खातीथोकका प्रत्येक कृषकले कम्तीमा ४÷५ वटा टनेलमा गोलभेंडाखेती गरिरहेका छन् । यो वर्ष थप १० जना कृषकले गोलभेंडाखेती सुरु गर्ने तयारी गरेको खातीथोक अर्गानिक कृषि उत्पादन समूहका अध्यक्ष रामबहादुर ठाडा मगरले जानकारी दिए । कृषकहरूले यो वर्ष गोलभेंडाखेती विस्तारका लागि १ सय ५७ वटा टनेल कृषि विकास कार्यालयसँग माग गरेका छन् ।
गत वर्ष एउटा टनेलमा मात्रै गोलभेंडाखेती गरेका बिसु थापाले यसको राम्रो सम्भावना देखेपछि यो वर्ष ४ वटा टनेल थप गरेका छन् । गतवर्ष एउटा टनेलबाट ३० हजार रुपैयाँको गोलभेंडा बिक्री गरेका उनले यस वर्ष अझै बढी आम्दानी गर्ने बताए ।
कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले यो आर्थिक वर्षको कार्यक्रमबाट कृषकलाई टनेल सहयोग गर्ने बताए । उनका अनुसार कार्यालयले ५० प्रतिशत अनुदानमा कृषकलाई टनेल वितरण गर्छ ।
गोलभेंडाखेतीका लागि जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष ०७१/७२ मा २० वटा टनेल ५० प्रतिशत अनुदानमा, प्लास्टिक पोखरी ४ थान, थोपा सिँचाइका लागि ६० हजार र प्लास्टिक क्रेट ७ थानका लागि ४ हजार २ सय सहयोग गरेको थियो ।
त्यस्तै आव ०७२/७३ मा ५० थान टनेल ५० प्रतिशत अनुदानमा, प्लास्टिक पोखरी ५ थान, थोपा सिँचाइका लागि ९० हजार रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै महिला तथा बालबालिका कार्यालयले १ लाख ५० हजार अनुदान र तालिमका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको थियो ।