इलाम । चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित भएका छन् ।आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो सुरु गरेका किसान बर्सेनि चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन् । जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका हुन् । “उचित मूल्य नपाउँदा लगानी समेत उठ्ने अवस्था छैन,” ९३ रोपनी जमिनमा चिराइतो लगाएका माबु–७ का फुर्वा शेर्पाले भन्नुभयो ।
उहाँले गत वर्ष १९ मन चिराइतो रु १८ हजारका दरले बिक्री गरे पनि यसपालि रु १४ हजार मात्र मूल्य पाएको बताउनुभयो । यस्तै करिब ३०० रोपनीमा चिराइतो खेती गर्दैआउनुभएका जमुनाका उमेश गुरुङ मूल्य घट्न थालेपछि जिल्लाको उत्तरी क्षेत्रका किसान मारमा परेका बताउनुहुन्छ ।
खाद्यान्न बाली मासेरै चिराइतो खेती गरेका किसान खाद्यान्न सङ्कट आइपर्ने भन्दै चिन्तित छन् । माइमझुवा–६ का दिलबहादुर गुरुङ चिराइतोको मूल्य बर्सेनि घट्दै गएकाले समस्यामा परेको बताउनुहुन्छ । चिराइतोसहित अन्य जडीबुटी लगाएर गरेको आम्दानीले नै वर्षभर घर खर्च चलाउने, छोराछोरी पढाउने र अन्य आर्थिक गतिविधि गर्ने गरेको उहाँ बताउनुहुन्छ । जिल्लाका सुलुबुङ, माइपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ, चमैता, नयाँबजारलगायतका गाविसका चार हजारभन्दा बढी किसानले चिराइतो खेती गर्दैआएका छन् । आव २०७२÷७३ मा ४२ हजार ८९५ किलो चिराइतो निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।