भक्तपुर। दोस्रो ठूलो पर्व तिहार सुरु भइसके पनि भक्तपुरका किसानलाई भने यतिखेर धान भित्र्याउन चटारो छ ।
तिहार आइसके पनि यहाँका किसान भने धान काट्ने, सुकाउने र धान भित्र्याउनमा व्यस्त छन् । यतिखेर तिहार मनाउने भन्दा पनि धान भित्र्याउने चटारोले किसान यतिखेर धानको खलोमा व्यस्त छन् ।
भक्तपुर व्यासीमा धान भित्र्याउन व्यस्त किसान कान्छीमाया श्रेष्ठले धानकै चटारोले तिहारको किनमेल गर्न नभ्याएको बताउनुभयो । धान सुकाउने पर्याप्त ठाउँसमेत नभएपछि भक्तपुर र थिमि नगरपालिकाका बासिन्दाले भने सडकको किनारा, चौर र फुटपाथमा धान सुकाएर भित्र्याउने तयारीमा छन् ।
भक्तपुरको हनुमानघाटस्थित चौरमा धान सुकाएका नारायणप्रसाद प्रजापतिले घरमा धान सुकाउने ठाउँ नभएकाले चौरमा धान सुकाउनु परेको बताउँदै तिहारको चटारो भन्दा पनि धानकै चटारोले पिरोलेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो–“तिहार पनि मान्छौ, तर पानी परेर धान झार्ने र धान बिगार्ने डरले तिहार मान्न भन्दा पनि धान भित्र्याउन नै ध्यान दिन परेको छ ।” धान रोप्ने समयमै पर्याप्त वर्षा भएपछि यसवर्ष धानको उत्पादनमा समेत वृद्धि हुने देखिएको छ ।
दसैँ सकिएलगत्तै किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ भएको र यसपाली धान काट्ने, चुट्ने र सफा गर्ने मजदुर नपाएपछि विगतका वर्षमा भन्दा बढी समय लागेको सम्बद्ध किसानको भनाइ छ । यसवर्ष समयमै मनसुन भएकाले विगतका वर्षमा भन्दा धानको उत्पादन राम्रो भएकामा उनीहरु दङ्ग छन् ।
भक्तपुरका किसानले गतवर्ष चिनियाँ हाइब्रिड जातको धान लगाएर ठूलो नोक्सानी बेहोरे पनि यसवर्ष भने त्यस्तो समस्या नआएकाले धानको उत्पादन बढेको हो । यहाँका किसानले यसवर्ष विभिन्न हाइब्रिडका साथै, झरुवा, टाइचिन, खुमल– ४, खुमल ११ लगायतका धान लगाएका छन् ।जिल्ला कृषि कार्यालयले जिल्लामा चार हजार ३४८ हेक्टरमा धानखेती भएको जनाएको छ ।