धनकुटा । तिहारलाई लक्षित गरेर लगाएको सयपत्री फूल कसैको ठीक समयमा र कसैको तिहार पछि मात्र फुल्ने भएपछि धनकुटाका फूल किसानहरु यतिबेला खुशी र तनाव दुवैमा देखिन थालेका छन् ।
वर्षको एक पटक तिहारमा मात्र अत्यधिक फूलको व्यापार हुने तर त्यो भन्दा अघि–पछि फूलको कुनै कारोबार नहुने भएपछि किसानहरुमा हर्ष र विस्मातको स्थिति आएको हो । यसर्थ अहिले ठीक समयमा फूल फुलाउन सफल किसानहरु भने फूल बेचेर राम्रो आम्दानी हुने आशाले खुशी छन् तर अझै पनि फूल फुल्न बाँकी भएका किसानहरु चाँहि निकै निराश देखिएका छन् ।
गत वर्ष ५ रोपनी जग्गामा लगाएको फूल बेचेर ९२ हजार रूपैयाँ कमाएका धनकुटा २ लाँकुरेका जितेन्द्र राई यो वर्ष भने २ लाख ५० हजार रूपैयाँ कमाउने सोचमा रहेको बताउँछन् । गत वर्ष फूलको माग अत्यधिक देखेपछि उनले यो वर्ष अरु ८ रोपनी जमिन भाडामा लिएर जम्मा १३ रोपनीमा फूल खेती गरेका छन् । उनले भने, ‘अहिले पनि ठीक्क समयमा फूल फुलेकोले राम्रो कमाइ हुने आश छ ।’ गाउँका अन्य डेढ दर्जनभन्दा बढी किसानहरुको पनि फूल राम्रो भएकोले यो वर्ष प्रति मूठा ३० रूपैयाँसम्ममा फूल बेचेर गाउँलेहरुले पनि राम्रो आम्दानी गर्ने उनले बताए । त्यस्तै, धनकुटा ५ कर्मिटारका सन्जु तामाङले पनि २ रोपनी क्षेत्रफलमा लगाएको फूल बेचेर १ लाख ५० हजार रूपैयाँ भन्दा बढी कमाउने लक्ष्य रहेको जानकारी दिईन् ।
गत वर्ष स्थानीय जातको फूल लगाउँदा १५ हजार कमाएका उनले यो वर्ष भने उन्नत जातको(हाईब्रिड) फूल लगाएर राम्रो आम्दानी गर्ने अपेक्षा राखेको बताईन् । तर उता धनकुटा ४ स्थित ठोका गाउँका १८ भन्दा बढी फूल कृषक भने आफूले लगाएको फूल नफुलेका कारण निकै निराश भएका छन् । तिहार आउनै लागेको बेला गाउँलेहरुले लगाएको फूल अहिले १० प्रतिशत मात्र फुलेकोले आफूहरु निराश बनेको उक्त गाउँका अगुवा कृषक डिल्लीमान राईले बताए ।
‘तिहार सकिएपछि फुलेको फूल सित्तैमा दिँदा पनि कसैले लाँदैनन्’,उनले भने,‘अब गाईलाई सोत्तर र घाँस लगाउनुपर्ने भएको छ ।’ गत वर्ष २ रोपनी क्षेत्रफलमा खेती गर्दा रू. ३० हजार कमाएका उनले यस वर्ष रू. १ लाख कमाउने लक्ष्य लिएर ३ रोपनीमा १० हजार बिरुवा लगाएर पनि रू. ६–७ हजार भन्दा बढी कमाई नहुने जानकारी दिए ।
त्यस्तै सोही गाउँका किसान प्रेम बहादुर राईले पनि गत बर्ष अरुले फूलबाट पैसा कमाएको देखेर यस वर्ष आफूले पनि २ रोपनी क्षेत्रफलमा लगाएको फूल नफुल्दा मेहेनत मात्र खेर गएको बताउँछन् । उनले भने,‘ढिलै फुलेपनि तराईतिर लगेर बेच्ने थियौँ होला तर त्यहाँ सबै इण्डियाको फूल आएर यहाँको बिक्दैन ।’ उक्त गाउँको जमिन सेपिलो(कम घाम लाग्ने) भएको र यस वर्ष पानी समेत बढी परेकाले सबै फूल समयमा फुल्न नसकेको गाउँलेहरु बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार हाल धनकुटामा २ सय ५० कृषकले ४ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको मौसमी खेती गर्ने गरेका छन् ।
कार्यालयका प्राविधिक सहायक टङ्क अधिकारीले गत वर्षको तिहारमा २५ लाख २० हजार बराबरको प्रति मूठा ३० रूपैयाँ पर्ने ७४ हजार मूठा फूूल जिल्ला बाहिर निकासी भएको जानकारी दिए ।