पाँचथर । उत्तरपूर्वी सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैंचा गाविसमा चौरी पालन व्यवसाय सङ्कटमा पर्दै गएको छ ।
पर्याप्त जनशक्तिको अभाव र भालु आतङ्कका कारण उक्त व्यवसाय धरासायी बन्दै गएको हो । गाउँका युवा वैदेशिक रोजगारीमा जान थालेपछि गोठमा बस्ने सहयोगी मान्छे पाउन कठिन भएको सिदिन–२, काचौरीका चौंरीगाईपालक कृषक राजेन्द्र राईले बताउनुभयो ।
चरन क्षेत्रमा भारततर्फबाट ठूलो सङ्ख्यामा भालु प्रवेश गरी चौंरीगाई खान थालेपछि चांैरीपालन गर्नेको सङ्ख्या बर्सेनि घट्दै गएको छ । एक दशक अघि फलैँचा र च्याङथापुमा मात्र २५ वटा चांैरीगाईका गोठ थिए । अहिले उक्त सङ्ख्या घटेर १० पुगेको च्याङथापुका गर्जमान गुरुङले बताउनुभयो ।
“गोठमा बस्नलाई साथी पाइनै छोड्यो, भालुले सालिन्दा चौंरीगाई खाइदिन्छ,” उहाँले भन्नुभयो– “व्यवसाय गर्ने कि छाड्ने दोधारमा छु ।” उक्त क्षेत्रका चौंरीगाईपालकमध्ये यस वर्ष मात्र प्राङबुङ–४ का डिल्ली केरुङ, देवी नेपाल, प्राङबुङ–८का सुकबहादुर राई, दिलकुमार राई र सिदिन–१ का डन्डुु लामाले व्यवसाय छाडेका छन् ।
“कृषकले चांैरीगाईको सङ्ख्या घटाउँदै लगेका छन्,” उहाँले भन्नुभयो । पछिल्लो समय सरकारले सामुदायिक वनको संरक्षणमा कडाइ गरेपछि समेत चांैरीगाईपालन व्यवसाय सङ्कटमा परेको कृषकको भनाइ छ । इलामको चौरीखर्क आसपासका सामुदायिक वनले कडाई गरेपछि सो क्षेत्रका चौंरीगाईपालन व्यवसाय धरापमा परेको माइमझुवा–८ का गौतम राईले बताउनुभयो । व्यवसायलाई निरन्तरता दिन पाँचथरका विभिन्न सामुदायिक वनसँग गोठ राख्नलाई अनुमति मागिरहेको राईको भनाइ छ ।
पाँचथर, इलाम र ताप्लेजुङमा वर्षौँदेखि गरिँदै आएको चौंरीगाईपालन व्यवसाय पछिल्लो समय विभिन्न कारणले धरासायी बन्दै गएको छ । वार्षिक रु चार लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका चांैरीगाईपालक कृषक व्यवसाय छोडी अन्य पेसा व्यसाय अपनाउन थालेका बताइएको छ ।