इलाम। राम्रो मूल्यमा विक्री हुन थालेपछि केही एक दशक अघिदेखि उत्साहित भएर चिराइतो खेतीमा लागेका लेकाली क्षेत्रका किसानको चिराइतोमा अहिले उत्साह मर्दै गएको छ । उत्पादित चिराइतो विक्री गर्नै समस्या भएपछि किसानले चिराइतोको विकल्प खोज्न थालेका छन् । खाली ठाउँमा चिराइतो खेती लगाएर आम्दानी लिंदै आएका किसनले अहिले भने पूरानै खेतीमा फर्किने अवस्थामा पुगेका छन् ।
ज्डीबुटी उत्पादनमा काम गर्दै आउनु भएका सुजमा सहकारी संस्थाका दिनेश सुवेदी केहि वषैयता चिराइतो विक्रीमा समस्या भएको बताउनु हुन्छ । चार वर्षअघि ३० हजारको हाराहारीमा विक्री भएको चिराइतो भाऊ अहिले १५ हजार भन्दा माथि छैन । सहकारी वा ब्यापारीले झापाको काँकडभिट्टा पु¥याएर अधिकतम २० हजार रुपैयाँमा भारतीय ब्यापारीलाई विक्री गर्दैछन् ।
त्यसमा खर्च, ढुवानी र नाफा राखेर मात्रै किसानले मूल्य पाएका छन् । कतिपय किसानले अघिल्लो वर्ष नै विक्री भएको चिराइताको पैसा पाएका छैनन् । भारतीय खरिदकर्ताले पैसा दिई नसकेकाले किसानलाई रकम दिई नसकेको ब्यापारीहरू बताउँछन् ।
विगत केही वर्षदेखि चिराइताको विक्रीमा समस्या देखिएको किसान–व्यापारी बताउँछन् । ‘पोहोरको सिजनको चिराइतो ब्यापारीले आउँदो सिजनमा मात्रै विक्री गर्ने अवस्था छ’–सुवेदीले भन्नुभयोे–‘यो सिजनको चिराइतो कसरी बेच्ने भन्ने समस्या भइरहेको छ ।’ चिराइतोमा मिसावट भएकाले पहिलेको भन्दा मूल्य घट्दै गएको जानकारहरु बताउँछन् ।
चिराइतोमा विभिन्न किसिमका रोगको संक्रमण बढ्दै जाँदा त्यसको उत्पादन पनि घट्दै गएको छ । ‘पहिलेको तुलनामा उत्पादन पनि घट्दै गएको छ’–सुलुबुङ्गका युवराज पिसीले भन्नुभयोे–‘रोग किराले पनि हो, उत्पादकत्व पनि घट्दै गएको छ ।’ चिराइतोको उत्पादन र आम्दानी घट्दै गएपछि किसानले अलैंची, विरुवा घाँस र अन्य खेती लगाउँदै गएको सुजमाका दिनेश सुवेदीले बताउनु भयो ।
गत आवमा इलामबाट एक हजार पाँच सय मनको हाराहारीमा चिराइतो उत्पादन भएको यस क्षेत्रमा काम गर्दै आएकाहरु बताउँछन् । तर, जिल्ला वन कार्यालय इलामले भने हजार मन हाराहारीमा मात्रै चिराइतो निकासी गर्न दिएको जनाएको छ ।
जिल्ला वन कार्यालयका गणेश अधिकारीका अनुसार गत आवमा ४२ हजार आठ सय ९५ किलो चिराइतो निकासी भएको छ । सीमावर्ती क्षेत्रबाट अवैध रुपमा चिराइतो निकासी हुने क्रम अझै नरोकिएको ब्यवसायीहरु बताउँछन् । आव २०७०÷०७१ मा ३५ हजार चार सय ४६ किलो चिराइतो निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । जिल्लाबाट निर्यात हुने अन्य केही जडिबुटी भने निकासी नै हुन छाडेको छ । चिताइतो बाहेक नागबेली पाउडर, बिखुमा, सतुवालगायतका जडीबुटी निर्यात हुने गरेको वन कार्यालयले जनाएको छ । इलामको २६ बढी लेकाली गाविसमा उत्पादन हुने चिराइतोको बजार भारतको कोलकत्ता, सिलिगुडी र दिल्ली हो । मुलुकमा नै पर्याप्त जडीबुटी प्रशोधन कारखाना स्थापना नभएसम्म जडीबुटी खेतीमा देखिएको समस्या समाधान नहुने ब्यवसायीहरुको भनाई छ ।