नेपालगन्ज। अगैया क्षेत्रका किसानले सामूहिकरुपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छन् ।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले रु चार लाख ५५ हजारको लागतमा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेपछि तरकारीखेतीमा संलग्न कृषक खुसी भएका छन् ।
सिँचाइ ट्याङ्की निर्माणका लागि कञ्चनापुर गाविसबाट रु २० हजार र श्रमदानबापत रु एक लाख ४८ हजार व्यहोरिएकोे जनाइएको छ ।
त्यस क्षेत्रका किसानको टुक्राटुक्रा जग्गालाई एकिकृत गरी ३९ घरधुरी मिलेर हाल ४० कठ्ठा जमिनमा मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताउनुभयो ।व्यावसायिक तरकारीखेतीमा संलग्न कृषकले प्रगतिशील कृषक समूह गठन गरी त्यस मार्पmत खेतीको सम्पूर्ण कामको व्यवस्था मिलाएका छन् भने क्लबले कृषकलाई प्राविधिक, बीउविजन, व्यवस्थापनलगायतका विषयमा तालिम तथा सहयोग उपलव्ध गराउँदै आएको छ ।
सो समूहले कुल २५ समूह गठन र ‘समूह बचत कोष’ समेत स्थापना गरी गाउँको सो समूहमा संलग्न घरधुरीलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्ने चाजोपाँजो समेत मिलाएको जनाइएको छ ।