चितवन। चितवनमा वर्षे धान काट्न सुरु भएको छ । किसानहरु वर्षे धान काट्न व्यस्त बनेका छन् । पूर्वी क्षेत्रमा करिब ३० प्रतिशत धान काट्ने काम सकिएको छ भने पश्चिम चितवन मा २० प्रतिशत धान काटिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
हालसम्म करिब२५ प्रतिशत धान काटिएको छ । धान काट्न बारा,सर्लाही तथा तराईका जिल्लाहरुबाट कृषि मजदुर आएका छन् । कृषि कार्यालयका सूचना अधिकारी एवं योजना अधिकृत कमला न्यौपानेका अनुसार चितवनमा यसवर्ष २७ हजार तीन सय हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । चितवनको पूर्वी क्षेत्रमा वर्षे धानका लागि खैरहनी, कठार, कुमरोज, भण्डारा, रत्ननगर, पिठुवा, जुटपानी आदि पकेट क्षेत्र मानिन्छन् । पश्चिम क्षेत्रमा भने गीतानगर, पटिहानी, जगतपुर, शुक्रनगर, मेघौली, गुञ्जानगर, माडी आदि पकेट क्षेत्र हुन् ।
यसवर्ष वर्षे धानको उत्पादकत्व राम्रो भएको, समयमा पानी पर्नु, रासायनिक मल समयमा नै किसानलाई उपलब्ध हुन र रोगव्याध कम लागेका कारण उत्पादनमा वृद्धि हुने न्यौपानले बताइन् । केही किसानहरुको धानमा भने ‘गवारो’ तथा ‘लिफ ब्लाष्ट’ रोग देखा परेको न्यौपानेको भनाइ छ । गवारो रोग देखापरेको खेतमा पाकेको धान फोस्रो हुने गरेको पाइएको छ ।
चितवनमा अघिल्लो वर्ष २७ हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिएकोमा ९२ हजार छ सय ८९ मेट्रिक टन धान उत्पादन भएको थियो ।