काठमाडौं। सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको छ। यहाँ उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाईपालनलाई प्रोत्साहन गर्ने सरकारी योजना थियो तर भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउन पहल सुरु गरेको हो। सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ। किसानले पनि व्यावसायिक पशु फर्मका लागि नस्ल सुधार भएका गाईको माग गरेका छन्।
यस्ता गाई भारतबाट ल्याउने पहल सफल हुन नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलास ढुंगेलले बताए। ‘करिब चार हजार उन्नत गाईको माग छ,’ ढुंगेलले भने, ‘भारतबाट ल्याउन सफल नभएपछि चीनबाट ल्याउन पहल भइरहेको छ।’ विभिन्न माध्यमबाट चिनियाँ अधिकारीसँग छलफल भइरहेको बोर्डले जनाएको छ। ‘हाम्रा लागि अन्य मुलुकबाट गाई ल्याउन भौगोलिक रूपमा सम्भव छैन,’ उनले भने। तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने योजना सार्थक बनाउन थोरै लगानीमा धेरै दूध दिने गाई आवश्यक रहेको ढुंगेलले बताए। ‘यहाँका स्थानीय गाई पाल्न लागत धेरै लाग्छ तर उत्पादन थोरै छ,’ उनले भने, ‘त्यसैले विदेशबाट गाई ल्याउन पहल भइरहेको छ।’ नेपालले भारतबाट मासुका लागि अर्बौं रुपैयाँका पशुपक्षी ल्याउने गरेको भए पनि कूटनीतिक पहल गरी नस्ल सुधारका लागि गाई ल्याउन सकेको छैन।
सरकारीमात्र नभएर निजी क्षेत्रले पनि चीनबाट ग्ााई ल्याउन पहल गरिरहेको पशुपक्षी मन्त्रालयले जनाएको छ। ‘डेरी व्यवसायीले चीनबाट गाई खरिद गर्न परराष्ट्रसँग समन्वय गरिदिन आग्रह गरेका छ,’ मन्त्रालयका प्रवक्ता श्याम पौडेलले भने, ‘उन्नत जातका गाई यहाँ पर्याप्त नहुँदा कठिनाइ भएको हो।’
भारतले उन्नत जातका गाई नेपाल निर्यातमा रोक लगाएपछि विकल्प खोजिएको हो। भारतसँग सीमा जोडिएकाले त्यहाँबाट पशु ल्याउन सजिलो हुन्छ।
गत वर्ष भूकम्प पीडितलाई करिब दुई हजार गाई वितरण गर्ने कार्यक्रम भए पनि खरिद प्रक्रिया झन्झटिलो भएकैले बजेट खर्च हुन सकेको थिएन। सीमा क्षेत्रका किसानले खुला सिमानाको फाइदा उठाउँदै चोरी निकासी गरेर केही गाई ल्याए पनि भारतले गाई निर्यात गर्न कानुनी रूपमा नै रोकेको छ।
विदेशमा थोरै घाँस खाएर धेरै दूध दिने गाई पाइन्छन्। व्यावसायिक फर्म सञ्चालन गर्ने किसानले यस्तै गाई माग गर्दै आएको पशु सेवा विभागले जनाएको छ। उन्नत गाईले थोरै घाँस र दाना खाने तर धेरै दूध दिने विभागका निर्देशक केशवप्रसाद प्रेमीले बताए। ‘उन्नत गाईको दूध उत्पादन लागत कम हुन्छ,’ प्रेमीले भने, ‘सकेसम्म थोरै लगानीमा धेरै उत्पादन हुँदा फाइदा हुने भएकाले उन्नतको माग बढ्नु स्वाभाविक हो।’ पाँच लिटर दूध दिने तर १० किलो घाँस खाने स्थानीय गाईभन्दा त्यति नै घाँस खाने र २० लिटर दूध दिने गाई किन्न खोज्नु स्वाभाविक भएको उनले बताए।
नेपालमा ७२ लाख ४१ हजार गाई पालिँदै आएको पशुपक्षी विभागले जनाएको छ। त्यसै गरी भैंसीको संख्या ५१ लाख ६७ हजार छ। भैंसीको तुलनामा गाईको संख्या बढी भए पनि अधिकांश गाई काठे (कम दूध दिने स्थानीय) छन्। गाईको तुलनामा भैंसीकै दूध धेरै उत्पादन हुन्छ। नेपालमा गोवध गर्न कानुनले रोक लगाएको छ। त्यसैले गाईको संख्या बढी भए पनि प्रतिफल कमजोर भएकाले सरकारले उन्नत जातको गाई पालनलाई प्रोत्साहन गर्दै आएको छ।
नेपालमा वार्षिक उत्पादन हुने १७ लाख २४ हजार मेटि्रक टन दूधमध्ये गाईको दूध पाँच लाख ५७ हजार मेटि्रक टन र भैंसीको दूध ११ लाख ६७ हजार मेटि्रक टन रहेको सरकारी तथ्यांकले देखाउँछ।