रूपन्देही । गुल्मी बलेटक्सार–५ का नरबहादुर पाण्डेले २ वर्ष अगाडिसम्म आफ्नो बारीमा मकै लगाउँथे, कोदो रोप्थे । त्यहीँ बारीबाट उत्पादित अन्नले परिवारको गुजारा चलाउँथे । तर, अहिले उनी पुरानो खेती छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका छन् । उनले आफ्नो ८ रोपनी बारीमा टमाटर, काउली, बन्दा र खुर्सानी लगाएका छन् । १०/१२ वर्ष अगाडिदेखि व्यावसायिक तरकारी खेती गर्ने मन भए पनि बजार अभावले उनले तरकारी खेती गर्ने आँट गर्न सकेका थिएनन् । अहिले पैंचो पसलले उनले उत्पादन गरेका कृषिजन्य सामग्री खरीद गरिदिने भएपछि व्यावसायिक तरकारी खेतीमा उनी लागेका हुन् ।
‘आफ्ना उत्पादन डोकोमा बोकेर रिडीदेखि तम्घाससम्म लैजानुपर्ने अवस्था थियो,’ पाण्डेले भने, ‘तर अहिले पैंचोसँग सम्झौता गरेको छु, न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँसम्ममा टमाटर खरीद गर्ने सम्झौता गरेकाले अब व्यावसायिक टमाटर खेती बढाउँदै लैजान्छु ।’ उनले यसै वर्ष मात्र उनले १४ क्विण्टल टमाटर पैंचोलाई विक्री गरिसकेका छन् ।
बलेटक्सार–७ का यादव ज्ञवालीले पनि आफ्ना सबै उत्पादन गर्ने तरकारी पैंचोले खरीद गर्ने भएपछि गत वर्ष ५ सय अकबरे खुर्सानी लगाए । यस वर्ष त्यसलाई बढाएर ८ सय पुर्‍याएका छन् । ‘अब बजारको समस्या रहेन,’ उनले भने, ‘बजार घरैमा आएपछि खुर्सानी खेती शुरू गरेको हुँ, यसैबाट राम्रो आम्दानी गर्ने लक्ष्य छ ।’ हुगा–१ ठूलापोखरा गुल्मीका जीवन भण्डारीले ७ रोपनी जग्गामा टमाटर खेती गरेका छन् । उनले १० हजारबाट टमाटर खेती गरेका थिए । अहिले उनको लगानी १ लाख पुगेको छ । यस वर्ष मात्रै पैंचोलाई टमाटर विक्री गरी ६ लाख नाफा कमाउन सफल भएका छन् । उनले भने, ‘विदेश हिँडेको मान्छे आफ्नो उत्पादनको बजार ग्यारेण्टीले पैंचोले गरेपछि तरकारी खेतीमा लागे ।’
उक्त गाविसका सबै किसानका उत्पादन पैंचोले लिइदिने भएपछि त्यहाँका ८० प्रतिशत किसान व्यावसायिक खेतीमा लागेको उनको भनाइ छ । उनीहरू मात्र होइन अहिले गुल्मीका १६ गाविस, पाल्पाका १० र अर्घाखाँचीका ५ गाविसका किसान पैंचोले खरीद गरिदिने भएपछि व्यावसायिक खेतीमा लागिरहेका छन् ।
किसानले उत्पादन गरेको तरकारी फलफूल र अन्न बालीले सहजै बजार पाएपछि ग्रामीण बस्तीका किसान कृषि पेसामा लाग्न थप हौसला मिलेको बताउँछन् । पैंचो पसल प्रालिका प्रबन्धक ध्रुव न्यौपानेले पसलले उत्पादन खरीद गर्न थालेपछि निर्वाहमुखी किसान व्यावसायिक बन्दै गएको बताए । उनले पैंचो पसल सञ्चालनमा आएपछि गुल्मी, पाल्पा र अर्घाखाँचीका किसानमा कृषिको लहड नै आएको बताए । आफूले उत्पादन गरेका सामग्री पैंचोमा विक्री गरी आफूलाई आवश्यक पर्ने लत्ताकपडादेखि नून तेल, साबुनलगायत सामग्री लैजानसमेत सक्नेछन् । पैंचोले आफ्ना तरकारी सङ्कलन केन्द्रमा त्यस्ता पसलसमेत सञ्चालन गरेको छ । प्रालिको प्रधान कार्यालय गुल्मी बलेटक्सारमा छ ।
किसानले उत्पादन गरेको सरसमान बिचौलियाबाट ठगिने प्रवृत्ति थियो । अहिले किसानले सिधै बजार भाउअनुसार मूल्य पाउने, उनीहरूलाई चाहिने बीऊ बिजनदेखि, जैविक मल, दैनिक घरायसी वस्तुमा पैंचो पसलले सहयोग गर्दै आएको छ । पैंचोमा अहिलेसम्म ९ करोड लगानी भएको छ । पैंचो पसलले गुल्मी र पाल्पाका ६ स्थानमा आफ्नै पसल सञ्चालन गरिरहेको छ । गुल्मीको बलेटक्सार, हुँगा, दिगाम, रुरु, पाल्पाको अर्गली र बुटवलमा रहेको कोल्डस्टोरमा दैनिक लाखौं रुपैयाँको उत्पादन खरीदविक्री गर्दै आएको छ ।
यस्तै, हर्दिनेटामा तीनओटा, ग्वादी, थानापति, हुँगा झेद्री, हुँगा गुण्टुङ, दिगाम अंगाहा, लुम्सा, रेसुङगा नगरपालिका देउराली, डांडापोखरी दिगाममा गरी थप ११ पसल पैंचो पसल प्रालिससँग सहकार्य गरी स्थानीय किसान र व्यवसायीले सञ्चालन गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालय गुल्मीका प्राविधिक सहायक शिवप्रसाद बञ्जाडेले गुल्मीका १२ गाविस तरकारीको लागि पकेट क्षेत्रका रूपमा विकास भएको बताए । व्यावसायिक किसानका लागि कृषि नीति आवश्यक रहेकोमा जोड दिए । यस पटक पैंचौले अम्बाको जुससमेत बजारमा ल्याएको छ ।