सल्यान। माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएका सल्यानका किसानहरु व्यवसायिक माछा पालनतर्फ आकर्षित हुदै आइरहेका छन् । परम्परागत खेती गर्दै आइरहेका किसानहरु कम मेहनत तथा छोटो समयमा माछा पालनबाट राम्रो आम्दानी हुने देखेपछि व्यवसायिक रुपमा माछा पालन तर्फ लागेका हुन् ।
जिल्लामा माछा पालन छोटो समयमै निकै प्रभावकारी ढंगले वृद्धि भईरहको जिल्ला कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । गाउँ गाउँमा यातायातका साधनको विस्तार तथ बढ्दो सहरीकरणका कारण माछा पालन व्यवसायिक रुपमा फस्टाउदै गइरहेको पाइएको छ । घरायसी तथा सोकका लागि माछा पालन गर्दै आइरहेका सल्यानका किसाहरुले विगत ३ ÷४ वर्षयता भने ठुलो लगानी गरेर माछापालन गर्ने गरेको वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिनु भयो ।
परम्परागत खेतीमा निकै लागनी र धेरै समय खर्चिदा पनि सोचेजस्तो उपलब्धि हात पार्न नसकेपछि वैकल्पिक पेशाका रुपमा व्यवसायिक माछा पालन सुरु गरेको कालिमाटी रामपुर ७ सिमलचौकका किसान केशर सिहं बुढाथोकीले बताउनु भयो । उहाँले भन्नु भयो बाउ बाजेको पालादेखि गर्दै आइरहेको खेती जति गर्दा पनि परिवारलाई पाल्न निकै समस्या हुदै आइरहेको थियो । छोराछोरी पढाउन लेखाउन, तथा घर खर्च जुटाउन नसकेपछि वैकल्पिक पेशाका रुपमा माछा पालनलाई रोजे र माछा पालन सुरु गरेको छोटो समयमै रामै्र प्रतिफल दिनथालेपछि यसलाई व्यवसायिक रुपमा अंगाल्दै आइरहेको छु ।
२२ रोपनी क्षेत्रफलमा माछा पालन गर्दै आउनु भएका बुढाथोकीले माछा बिक्रिीबाट मात्रै वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आइरहनु भएको छ । उहाँले भन्नु भयो २२ रोपनी क्षेत्रफलमा ४ वटा पोखरी निमार्ण गरी माछा पाल्दै आइरहेको छु । जसबाट घरखर्च तथा अन्य खर्च कटाएर ५ लाखसम्म आम्दानी गर्दै आइरहेको छु ।
घर वरपर खेर गइरहेको पानीलाई पोखरीमा जम्मा गरेर माछा पालन गर्दै आइरेको बुढाथोकीले बताउनु भयो । थोरै लगानी र कम समयमै माछा पालनबाट मनग्य आम्दानी गर्न सकिने भएकाले विदेशमा भौतारिनु पर्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।