कपिलवस्तु। भारतीय पक्षले सीमा क्षेत्रमा बनाएको बाँधका कारण पुनः नेपाली भुभाग डुबानमा परेको छ । भारतले पानी जम्मा गरी सिचाई गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको चार बाधको फाटक (ढोका) बन्द गर्दा नेपाली भूभाग डुबेको हो ।
भारतीय बझाहा, महलीसागर, सिसवा र मझौली बाँधको ढोका पूर्ण रुपमा बन्द गरिएको स्थानियबासीले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयले डुबानको कारण सो क्षेत्रमा काटनका लागि तयारी अवस्थाको एक हजार हेक्टर क्षेत्रको धानबाली डुबेर नष्ट भएको छ । फाटक नखोले पछि दक्षिणी सीमावर्ती क्षेत्रका एक दर्जन गाबिस प्रभावित बनेका छन् ।
चार वटै बाँधका कारण ६ गाबिसका २५ गाँउमा लगाईएको ९४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा ठूलो क्षति भएको छ । सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो ।
पिपराको तुल्सीडहवामा एक सय, गौरामा दुई सय, बलहुवा गाबिसको सिसहनियामा ३५, बिजुवा गाबिसको एक देखि ६ वाडका २७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ ।
यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको स्थानिय राम लखन जैसवालले जानकारी दिनुभयो ।
अहिले खेतमा पाँच फिट बढी पानी रहेको छ । बाँध निर्माण भए यता बर्षेनी हुने यस्ता डुवानकै कारण २०–२५ बर्ष यता कृषकले राम्ररी खेतीपाती स्याह्नै पाएका छैनन् । असोजको बर्षा पछि भारतीय पक्षले अहिले सम्म बाँधको ढोका खोलेका छैनन् ।
डुबानको कारण आफ्नो तीन हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूरै डुबेको पीपरा गाबिसको तुलस्ीहिडवाका जगदीश यादवले जानकारी दिनुभयो । ‘ पानीमा डुबेकोले काटने अवस्थामा छैन, ’ उहाँले दुःखी हुदै भन्नुभयो ‘खेत पूरै डुबेको छ, ’ ।
तत्कालै पानीको निकास नगरिए नेपाल तर्फका हजारौं कृषकले ठूलो क्षति ब्याहोर्नु पर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाँधको फाटक खोल्नका लागि आफुहरुले पटक पटक भारतीय पक्षलाई सीमानामै गएर आग्रह गर्दा पनि माथिल्लो आदेश भन्दै खोल्न अस्वीकार गरेको स्थानियबासीहहरू बताउँछन् । “पूरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानको लागि कसैले पहल गरेको छैन” बलुहबाका कृषक राजकिशोर पाण्डेयलले भन्नुभयो ।
सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिदा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ । करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाध बनाईएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ । २८ वटा बन्द गरिदा जमेको पानी निकास हुन पाएको छैन । सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण वर्सेनि डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न तालको बन्धा वर्सेनि अग्लो बनाउदै आएका भारतीय अधिकारीले यस बर्ष धेरै अग्लो बनाएकाले डुबान क्षेत्र बढेको उनीहरूले बताएका छन् ।
कपिलवस्तु प्रशासनले दुुई देशको अधिकारीबीच हुने समन्वयात्मक बैठकमा प्रत्येक पटक सो मुद्दा उठान गर्दै आएपनि समाधान हुन सकेको छैन । भारतीय पक्षले बनाएको बाँधका कारण भएको डुबानको समस्या बारे जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा जानकारी गराएको छ । प्रजिअ ईन्दु घिमिरेले कृषकको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी पठाईएको बताउनुभयो । “हामी यसको अनुगमन गर्छौ, यसबारे भारतीय पक्षसँग छलफल गरेर समस्या समाधान गर्न लाग्छौ” उहाँले भन्नुभयो ।