काठमाडौं । सरकारले नेपाली उत्पादनको प्रवर्द्धनका लागि निर्यातमा नगद प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेसँगै नेपाली चियाको निर्यातमा सुधार देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा चिया निर्यात करीब २० प्रतिशतले वृद्धि भएको छ ।
आव २०७१/७२ मा रू. २ अर्ब १ करोडको चिया निर्यात भएकोमा आव २०७२/७३ मा रू. २ अर्ब ४० करोडको चिया निर्यात भएको तथ्याङ्क केन्द्रसँग छ । सो आवमा कुल १३ हजार २ सय ८९ मेट्रिक टन चिया निर्यात भएको थियो । आव २०७१/७२ मा त्यस्तो निर्यात कुल ११ हजार १ सय ४२ मेट्रिक टन थियो । सो वृद्धि १९ दशमलव २६ प्रतिशत हो । तथ्याङ्कले अन्तरराष्ट्रिय बजारमा नेपाली चियाको औसत मूल्य लगभग स्थिर रहे पनि मागमा भएको वृद्धिका कारण निर्यात बढेको सङ्केत गरेको छ ।
तथ्याङ्कअनुसार आव २०७०/७१ को तुलनामा आव २०७१/७२ मा भने चियाको निर्यात केही सुस्ताएको देखिन्छ । आव २०७१/७२ मा रू. २ अर्ब १ करोडको कुल ११ हजार ३ सय ९६ मेट्रिक टन चिया निर्यात भएकोे थियो, जुन परिमाण तथा मूल्य दुवैको आकारमा कम हो । २०७२ सालको भूकम्पले गर्दा उत्पादन नोक्सान भएकाले सो वर्ष माग हुँदाहुँदै पनि कम चिया निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुइँटेलले बताए ।
उनका अनुसार विभिन्न मुलुकले लागू गरेका गैरभन्सार अवरोधका कारण पनि बेला बेलामा नेपाली चियाको निर्यातमा समस्या आउने गरेको छ ।