ताप्लेजुङ। ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका लेकाली क्षेत्रका किसान अलैंची टिप्न थालेका छन् । सामान्यतया असोज दोस्रो सातादेखि अलैंची टिप्न सुरु गरिने भए पनि दसैं परेकाले केही दिन ढिला गरी किसानले अलैंची टिप्न थालेका हुन् ।
“सबैतिर अलैंची टिप्ने चटारो छ,” सिकैंचा–६ का नेत्र पौडेलले भने, “दिनभर अलैंची टिप्न व्यस्त हुन्छौं, रातमा छोडाउँछौं ।” सिकैंचा–६ का अर्का कृषक निरज निरौलाले भने, “दसैं टीकाको भोलिपल्टदेखि खेतालासँग अलैंची बगान पसियो, अब साता दिनभन्दा बढी समय टिप्न र भट्टी लगाउनमै बित्छ ।”
अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने फुरुम्बु–५ का डम्बर कार्कीले बताए । अलैंचीको सिजनमा चोरी हुने खतरासमेत बढी हुन्छ ।बर्सेनि अलैंची पाक्न नपाउँदै मान्छेले चोर्ने क्रम नरोकिएको कार्कीले बताए । स्थानीय रेडियोबाट ‘अलैंची सिजन’ का बेला अलैंची धनीको अनुमतिबिना बगान प्रवेश नगर्न अनुरोधसहितको सूचनासमेत बज्ने गरेको छ ।
फुरुम्बु–५ का विद्या सिग्देलको सिकुवामा अलैंचीको थुप्रो लागेको छ । खेतालाहरू अलैंचीको थुप्रो वरिपरि बसेर मुख र हात सँगसँगै चलाउँछन् । थुङ्गा छोडाएर खोइला आँगनतिर फ्याँक्छन् । आँगनमा अलैंचीका खोइला छरिएका छन् ।
खेतालासँगै बिहान हातमा सिक्कल, छुरी र बोरा बोकेर घुँडासम्मको गम्बुट लगाएर बगानतिर लागेका सिग्देल साँझतिर घर फर्कन्छन् । सिग्देलको जस्तै दैनिकी आजभोलि लेकाली क्षेत्रका किसानको छ । दसैं सकिए लगत्तै किसानहरू यतिबेला कमाई भित्र्याउन व्यस्त छन् ।
माथिल्लो भेगका किसान बिहान उठ्ने बित्तिकै बगान जान्छन् । साँझ परेपछि अलैंचीले भरिएको धोक्रो बोकेर खेतालासँगै घर फर्कन्छन् । अलैंची टिप्ने चटारोले घरमा आउने–जानेसँग गफगाफ गर्ने फुर्सद छैन ।
कतै टिप्न कतै भट्टी लगाउन व्यस्त छन् । बगानमै भट्टी हुने किसानको घर बिहानदेखि साँझसम्म सुनसान हुन्छ । घर नजिकै र बगानमा बनाइएका भट्टीबाट धुँवाको मुस्लो उड्न थालेको छ ।मौसमका कारण माथिल्लो भेग र बेसी तथा पारिलो फाँटमा एकै समयमा अलैंची पाक्दैन । बेसी र पारिलो फाँटमा छिटो पाक्ने भएकाले असोज लाग्दै अलैंची टिपिन्छ । तर, माथिल्लो भेगतिर असोज अन्त्यतिर मात्र पाक्छ । एकातिर चाडपर्वको बेला अर्कोतिर गाउँघरमा युवाको कमीले खेताला समेत पाउन मुक्किल छ ।
त्यसैलै बर्सेनि खेतालाको ज्याला बढ्दो छ । ज्यालामा एकरूपता छैन । यो बेला अलैंची टिप्न सीप हुनेले राम्रो आम्दानी गर्छन् । राम गुरुङले भने, “गत वर्ष टिप्नेलाई तीन सय ज्याला दिएको थिएँ, यसपालि पाँच सयले दिँदा दिए पनि मुस्किलले खेताला पाइयो ।”
अलैंची टिप्न ढिलाइ गरे बोट र फल दुवै बिग्रने भएकाले ज्याला धेरै दिएर भए पनि टिप्न लगाउनुपर्ने वाध्यता छ । आजभोलि अलैंची प्रतिमन (४० किलो) को ५५ हजार रुपैयाँका दरले किनबेच भइरहेको छ । अलैंचीको भाउ घटबढ भइरहन्छ । प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य आधा घटेको छ ।
जिल्लामा गत वर्ष २४ सय १० टन अलैंची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । ताप्लेजुङमा करिब ४५ सय हेक्टरमा अलैंची खेती गरिएको छ ।