पोखरा। सम्भावना पहिल्याउँदै दृढ इच्छा शक्तिका साथ परिश्रम गर्ने हो भने सानो जग्गाबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, अकबरे खुर्सानीको खेती गर्दै आउनुभएका पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी ।
वार्षिक छ हजारको धान उत्पादन हुने चार आना जग्गामा लगाएको अकबरे खुर्सानी खेतीबाट दुई लाख भन्दा वढी आम्दानी गरेर कृषक भण्डारी उदाहरणीय बन्नुभएको हो ।
“डेढ महिनाको अवधिमा अकबरे खुर्सानी बिक्रीबाट एक लाख ५० हजार आम्दानी भइसक्यो, थप तीन लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य छ,” उहाँ भन्नुभयो – “प्रेरणाको स्रोत रेडियो नेपालको कृषि कार्यक्रम हो ।”
उहाँका अनुसार वैशाख महिनामा लगाएका चार सय ५० वटा बोटले साउनदेखि फल दिन सुरु गरेको छ । दैनिक १० देखि १५ केजी उत्पादन हुने गरेको यो खुर्सानी बजारमा तीनदेखि चार सय रुपैयाँमा बिक्री हुने गर्छ ।
भैंसीको पिसाब र प्राङ्गारिक मल विरुवाको फेदफेदमा राख्ने गरेको बताउँदै कृषक भण्डारी भन्नुभयो – रोग कम लाग्ने र अन्य विषादी तथा रासायनिक मल समेत प्रयोग नगरी शुद्ध अर्गानिक अकवरे खुर्सानी फलाउँदै आएको छु ।
रोजगारीका सिलसिलामा ४५ वर्षको उमेरमा साउदी अरब पुगेर पाँच वर्षसम्म कृषि फार्ममा काम गरेको बताउनु हुने कृषक भण्डारीसँग शैक्षिक भन्दा व्यावहारिक ज्ञान बढी छ ।
घरबाटै बिक्री गर्दा उचित मूल्य नपाउने भएकाले उत्पादित खुर्सानी आपंैmले डोकोमा बोकी उपभोक्ताको घरघरमा लगेर बिक्री गर्दै आउनुभएको उहाँकी श्रीमती दुर्गामाया भण्डारी बताउनुहुन्छ ।
बिहानै मिर्मिरेमा डोकोभरि घरको उत्पादन बोकेर बजार जानु दुर्गामायाको नित्यकर्म हो । उहाँ भन्नुहुन्छ – “ग्राहकले खुर्सानी र अचारको स्वाद आफूले मात्र हैन विदेशमा रहेका आफन्तहरुलाई समेत चखाउने गरेका छन् ।”
बारीमा उत्पादित अकबरे खुर्सानीका अलावा तरकारी, केरा दुग्ध पदार्थ, फलफूल लगायतका विभिन्न उत्पादनको बिक्रीबाट मासिक एक लाख बजारको पैसा गाउँमा ल्याउने गरेको उमेरले छ दशक पार गरेकी भण्डारीको दावी छ ।
खाँदा मुखमा पोले पनि पेट नपोल्ने यो खुर्सानी दैनिक दुईवटा सेवन गर्दा ग्याष्ट्रिक र कम रक्तचाप भएका व्यक्तिका लागि बढी लाभदायक हुने पारखीहरु बताउँछन् ।
अरु खेतीको तुलनामा कम मेहनत पर्ने र खासै रोग पनि नलाग्ने मात्रै हैन बिक्री हुँदैन कि भन्ने चिन्ता पनि लिन नपर्ने अकबरे खुर्सानीसँगै लामो समयदेखि नवीनतम कृषिमा लाग्दै आएका भण्डारी परिवारको एउटै गुनासो रहेको छ – कृषि सम्मानित पेसा ठानिएन ।
सुन्तलाबाट वार्षिक दुई लाख आम्दानी हुने गरेको बताउने भण्डारी परिवारले आयुर्वेदिक महत्व बोकेको सिम्रिकको खेती सुरु गरेका छन् । बारीको डिलमा पाँच वर्षअघि लगाएको सिम्रिकका आठ वटा बिरुवाले पहिलो पटक दिएको फल बिक्रीबाट ५२ हजार रुपैयाँ आम्दानी गरेको भण्डारीले राससलाई बताउनुभयो ।
वर्षको दुई पटक वैशाख र असोज महिनामा बिरुवा लगाउन सकिने र एउटा अकबरे खुर्सानीको बोटबाट लगातार दुई वर्षसम्म आम्दानी लिन सकिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइराला बताउनुहुन्छ ।
उहाँका अनुसार बजारको राम्रो व्यवस्था रहेको यो खुर्सानी खाँदा स्वादिलो र बास्नादार हुन्छ । यसको खेतीप्रति कास्कीका कृषकहरुको आकर्षण विस्तारै बढदै गएको छ ।