मोरङ। आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् ।
प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । किसान, आफैँ श्रमिक र आफैं साहु पनि । त्यही परिश्रमले दिएको छ, पौडेललाई मासिक रु ६० हजार । उहाँलाई अहिले पैसा समाउन फुर्सद छैन ।
रहरले कोठेबारीमा ५-६ वटा उखुका बोट लगाउनु भएका पौडेलले अहिले सबै धानखेती नगरेर उखुको व्यावसायिक खेती सुरु गर्नुभएको छ ।
कृषि मजदुर नपाएर उखु खेतीतर्फ लाग्नुभएका पौडेलको जिन्दगी नै उखुमय बनेको छ । सुरुका दुई वर्ष उहाँले खेतबाट उखु काटेर लाँक्रा–लाँक्रा डोकामा राखेर बेच्नुभयो । कहिले गाउँमा कराइकराइ बेच्नुभयो । राम्रै आम्दानी भएपनि उहाँले घरपरिवारलाई समय दिननसकेपछि उखु ठेक्कामा दिनुभयो । ठेक्काबाट पनि आम्दानी राम्रो भयो, तर साथीभाइ इष्टमित्र राख्न नपाइने । आफैँलाई खान मन लाग्दा पनि ठेकदारलाई साउती गर्नुपर्ने ।
झन्डै दुई वर्षयता उहाँ पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरीमा उखु पेलेर जुस बेचिरहनुभएको छ । उहाँले दैनिक झन्डै तीन हजारको जुस बेच्नुहुन्छ । “अहिले एक बिघामा उखु लगाएको छु । आफ्नो उत्पादनले वर्षभरि जुस बेच्न नपुग्ने भएपछि अन्यत्रबाट उखु ल्याउनुपर्ने भएको छ”–पौडेलले भन्नुभयो ।
बजारमा उखुको माग उच्च भएपनि आपुर्ति गर्न नसकेपछि अहिले उहाँ मात्र होइन, उहाँका छिमेकीहरू पनि धान बाली मास्दै उखु लगाउन थालेका छन् ।