नेपालगञ्ज । व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाँकेका करीब ३ सय किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
थोरै पूँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा विपन्न किसानको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । अहिले जिल्लाका कोहलपुर, कारकाँदो, खजुराखुर्द, पुरैना गाविस तथा नेपालगन्ज नगरपालिकाका किसान व्यावसायिक च्याउ खेतीमा संलग्न भएका छन् ।
व्यवसायमा संलग्न किसानलाई सो कार्यालयले बीउबिजन उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गर्दै आएको छ । अन्य सामाजिक संस्थाले पनि आफ्नो व्यावसायिक कार्यक्रममा च्याउ खेतीलाई समेट्ने गरेका छन् ।
च्याउखेती गरेका कृषकले एउटा याममा न्यूनतम् १० देखि १२ क्विण्टल च्याउ उत्पादन गर्ने गरेका छन् । उत्पादित च्याउ जिल्लाबाट अन्यत्र समेत निर्यात हुने गरेको छ । कृषि विकास कार्यालयको कार्यक्रमअन्तर्गत च्याउखेतीमा संलग्न किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको बताइएको छ ।