पाल्पा । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रू. ६० हजार आम्दानी गर्दै आएका छन् । दूध उत्पादनबाटै उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । उनले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थालेका हुन् । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ ओटा माउ गाई र सातओटा बाच्छाबाच्छी रहेका छन् । उनले दैनिक ७० लीटर भन्दा बढी दूध बिक्री गर्दै आएका छन् ।
करीब ११ वर्षसम्म उनले साउदी र कतारमा मजदूरी गरेका हुन् ।‘विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो’ उनी भन्छन् ‘कमाउन सकिएन खाली हात घर फर्किनुपर्‍यो ।’ गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उनले पनि गाई पाल्न शुरु गरेका हुन् ।
रेश्मीले रू. १२ लाखको लगानीमा व्यवसाय शुरु गरेका हुन् । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रम अन्तर्गत रू. ५९ हजार, एउटा चापकटर मेसिन र मोटर खरीदका लागि रू. १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा. चन्द्रबहादुर राना बताउँछन् ।१५ माउ गाईबाट दैनिक एकसय ५० लिटर दूध उत्पादन गरी मासिक रू. एक लाख बराबर आम्दानी गर्ने उनको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ ।