लमजुङ। पछिल्लो समय लमजुङमा अलैँची खेतीप्रति किसानको आकर्षण बढेको छ । थोरै लगानीमै मनग्य आम्दानी गर्न सकिने भएकाले किसानको आकर्षण बढ्न थालेको हो । ‘लमजुङको अलैँची गुणस्तरका हिसाबले एक नम्बरकै हो’, अलैँची उत्पादनका क्षेत्रमा लामो अनुभव बटुल्नुभएका नारायण ढकालले भन्नुभयो ।उहाँका अनुसार लमजुङ अलैँची उतपादनको दृष्टिले उदाउँदो जिल्लाको रुपमा कहलिएको छ । झण्डै ८ सयदेखि २२ सय मिटर उचाईसम्म अलैँचीको खेती गर्न सकिने ढकालले बताउनुभयो ।
लमजुङको भूलभूले–९ लुदीका सन्तबहादुर तामाङ सुन्दर सपनाको खोजी गर्दै २१ वर्षको कलिलै उमेरमा विदेश जानुभयो । वैदेशिक रोजगारीको सिलसिलामा उहाँले साउदीमा उहाँले चार वर्ष बिताउनुभयो । तर काम अनुसारको कमाई नभएपछि आफ्नै गाउँ लुदी फर्कनुभयो । परिवार पाल्ने जिम्मेवारी आफ्नै थाप्लोमा परेकाले उहाँमाथि आर्थिक भार थपियो । त्यसपछि, सन्तबहादुर दोश्रो पटक पनि मलेसिया नै जानुभयो । त्यहाँ १० वर्ष बिताउनुभयो । आर्थिक प्रगति केही भएन। .
विदेशबाट घर फिर्ता भएपछि उहाँको मनमा सोच पलायो, घरमै बसेर व्यवसायिक अलैँची खेती गर्ने । नभन्दै सन्त बहादुरले ५ रोपनी जग्गामा अलैँची लगाउनुभयो । अलैँची रोपेको दुई वर्षमा नै उहाँले अलैँची बिक्रीबाट वार्षिक पाँच लाख रुपैयाँ भन्दा बढी आर्जन गर्न सफल हुनुभयो । अलैँचीबाट मनग्य आम्दानी हुन थालेसँगै सन्त बहादुरले यसवर्ष ३० रोपनी जग्गामा अलैँची खेती बिस्तार गर्नुभएको छ ।
‘विदेशमा महिनाको १० हजार कमाई हुन्थ्यो । खाँदा बस्दा पाँच हजार सकिन्थ्यो । महिनाको पाँच हजार बचाउन पनि मुस्किल’, ३८ वर्षका सन्तबहादुरले भन्नुभयो, ‘घरमै बसी अलैँची बिक्रीबाटै वार्षिक पाँच लाखभन्दा बढी कमाई हुँदा सपना झैँ लाग्छ । अहिले यो खेतीलाई ३० रोपनी जग्गामा बिस्तार गरेको छु । राम्रो आम्दानी हुनेमा आशावादी छु ।’
सन्तबहादुरजस्तै लुदी गाउँमै फर्केर दर्जनभन्दा बढी युवाहरुले पनि अलैँची खेतीलाई अँगालेका छन् । मनग्य आम्दानी लिन पनि सफल भएका छन् । यसैगरी भूलभूले–९ ताराचोकककै अन्नबहादुर अधिकारी परिवार पाल्नकै लागि ९ वर्ष कतार बस्नुभयो । उहाँले पनि जे सोचेर विदेश जानुभयो, अफसोच् त्यस्तो भएन । परदेशमा आम्दानी नभएपछि आफ्नै घर फर्कनुको कुनै अर्को विकल्प नै थिएन, अन्नबहादुरसँग ।
गाउँलेले पाखो जमिनमै अलैँची रोपेर वार्षिक लाखौँ कमाएको कुरा उहाँको कानमा प¥यो । उहाँलाई विदेश पटक्कै बस्न मन लागेन । र आफ्नै गाउँ ताराचोक फिर्ती हुनुभयो । ‘गाउँमै दाजुभाइले अलैँचीबाट राम्रो कमाएको सुनियो । विदेश बस्न मनले मानेन्’ अन्नबहादुरले भन्नुभयो, ‘त्यसैले आफ्नै गाउँ फर्कि आएँ ।
अहिले एक रोपनी जग्गामा अलैँची लगाएको छु ।’ हालसालै अलैँची टिप्नुभएका अधिकारीले सुधारिएको अलैँची भट्टिमा अलैँची सुकाउँदै भन्नुभयो, ‘विदेशको भन्दा राम्रो कमाई यहीँ हुन्छ । के को लागि विदेश जानुपर्यो र ? अब आफ्नो देश छोडेर कतै गईन्न ।’ अलैँची व्यवसायमा परिवारका पनि उत्तिकै साथ मिलेको उहाँको भनाई छ ।
विगतमा मकै, कोदो लगाउँदै आएका लुदीकै अर्का किसान कृष्ण तामाङले पनि परम्परागत अन्नबाली छाडेर अलैँची लगाउन थाल्नुभएको छ । उहाँले पनि चार रोपनी लगाएको अलैँचीबाट वार्षिक चारलाख भन्दा धेरै आम्दानी गर्ने सुनाउनुभयो । मकै, कोदोबाट भन्दा अलैँचीबाट राम्रो आम्दानी हुने लुदीका अलैँची उत्पादक किसान बताउँछन् ।
गाउँमा पूर्वाधारको विकास नभएको भन्दै हुनेखानेहरु पहिले गाउँ छाडेर बेसीशहर, मनाङ, चितवन, पोखरा काठमाडौँ लगायतका शहरमा बसाईँ सर्न थाले । कोही विदेश भासिए । गाउँमा कोही भएनन् । ४२ घरधुरी रहेको लुदीमा बसाईं सरेर अन्यत्र जानेको संख्या बढेपछि गाउँमा बस्नेको संख्या ह्वात्तै घट्यो । जब गाउँमा अलैँचीको विकास र विस्तार भयो । विदेश गएका र बसाई सरी अन्यत्र गएका पनि धमाधम गाउँ फर्कन थालेका छन् । पाखो बारी खोस्रेर व्यवसायिक अलैँची खेती गर्न थालेका छन् ।
‘हिजोको दिनमा बसाई सरेर अन्यत्र गएका थिए मान्छेहरु । गाउँ रित्तो जस्तै भएको थियो । अहिले त गाउँमा प्रायः सबै फर्किएका छन् । गाउँमा जग्गा हुनेहरुले अन्यत्र बसेपनि गाउँमा अलैँची रोपेका छन् । सबैको बारीमा अलैँची छ,’ स्थानीय किसान सन्तबहादुरले भन्नुभयो ।
बसाईं सर्नेको संख्या बढेसँगै ६ घरधुरीमै सीमित भएको लुदीमा अलैँचीको विस्तारसँगै स्थायी बसोबास गर्नेको घरधुरी संख्या १८ पुगेको उहाँले जानकारी गराउनुभयो ।
जिल्लामा अलैँचीको विकास र विस्तारमा जिल्ला कृषि विकास कार्यालयले सहयोग गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताउनुभयो ।
‘उत्पादित अलैँचीको गुणस्तर कायमका लागि जिल्लामा सय भन्दा बढी सुधारिएको अलैँची भट्टी निर्माणमा सहयोग गरेका छौँ’, उहाँले थप्नुभयो । अधिकारीका अनुसार लमजुङको बाँझाखेत, ढोडेनी, फलेनी, इलमपोखरी, बन्सार, भुलभुले, पसगाउँ भोजे लगायतका ग्रामीण क्षेत्रमा व्यवसायिक अलैँची खेती भइरहेको छ ।
यसवर्ष लमजुङमा ४० लाख अलैँचीको बेर्ना तयार गरिने लक्ष्य राखिएको छ । अलैँचीको बेर्नाबाटै गएका आर्थिक वर्ष २०७२÷०७३ मा मात्रै १३ करोडभन्दा बढिको अलैँची निर्यात गरेको लमजुङले यसवर्ष पनि निर्यातलाई बढाउने लक्ष्य लिएको कृषि विकास कार्यालयले जनाएको छ । ‘विगतका वर्षमा किसानले अलैँचीको बेर्ना बिक्रीबाट नै लाखौँ कमाएका थिए’, उहाँले भन्नुभयो ।