बारा । निजगढ नगरपालिकाको निजगढ, भरतगञ्जसिगौंल, रतनपुरीका वडामा करिब ३५० विघा क्षेत्रफलमा ब्यवसायिक केराखेती भएको कृषि सेवा केन्द्र निजगढले जनाएको छ ।अन्य खेतीको तुलनामा केराखेतीबाट बढी आम्दानी र झन्झट कम हुने भएकोले निजगढ आसपासको कृषकहरु केराखेतीतर्फ आर्कषित भएको कृषि सेवा केन्द्र निजगढका का कृषि प्राविधिक साधुराम खरेलले बताए ।
निजगढमा १५०, रतनपुरीमा १० तथा भरतगञ्जसिगौंलमा करिब २ सय विघामा खेरा खेती हुन थालेको हो । प्रति कठ्ठामा १५ हजारदेखि २०÷२५ हजार रुपियाँ हुने आम्दानीका कारण केराखेती तर्फ कृर्षकहरु आकर्षित भएको हुन् । ब्यवसायिक केराखेतीले कृषकहरुको जीवनस्तर उकासेको छ । उनीहरुको परिवारको आर्थिक पक्ष पनि सबल बन्दै गएको कृषकहरु बताउँछन् ।
निजगढ, रतनपुरी र भरतगञ्जसिगौल बलौटे, दोमट माटो भएको वडाहरु हुन् । यस्तो माटो केराखेतीको लागि उपयुक्त मानिन्छ । प्रशस्त कम्पोष्ट मल भएको तर पानी कम लगाउन सकिने जग्गामा पनि केराखेती गर्न सकिने कृषि सेवा केन्द्र निजगढका जेटिए गंगा ओलीले जानकारी दिईन् । कृषि प्राविधिकका अनुसार ब्यवसायिक केराखेतीको क्षेत्रफल र बाली हेर्दा हाल ६ करोडदेखि ७ करोडको हाराहारीको केरा उत्पादन भइरहेको छ ।
शुरुमा निजगढका युवा ज्ञानबहादुर लामाले ब्यवसायिक केराखेतीको शुरुवात गरेका थिए । त्यसपछि ०६५ सालदेखि गोविन्द खरेलसंगै थुप्रै कृषकहरुले यस खेतीलाई निरन्तरता दिन थालेका छन् । अहिले निजगढ केरा खेतीमय बनेको छ ।
ब्यवसायिक केराखेती भएकाले बिक्री गर्ने बजारको कुनै समस्या नभएको कृषकहरु बताउछन् । यहा केरा उत्पादन नहुदा भारतबाट आयत हुने केरा ३÷४ वर्ष यताबाट पूर्ण रुपमा विस्तापित भई स्वदेशी मालभोग केराको एकछत्र राज चलि रहेको छ ।
यहा“ उत्पादित केरा, काठमाडौं, पोखरा, दोलखा लगायतका शहर, बजार सम्म पुग्ने गरेको कृषकहरु बताउँछन् । ब्यवसायिक मालभोग केराखेती उत्पादन हुने परिचय बनि रहेको यहा“ विलियम हाईब्रिट प्रजातीका केराखेती पनि शुरु गरिएको छ ।
यता केराको कोसा बिक्री गरेर आम्दानी कृषकलाई आएसंगै खेरजाने केराको बोटबाट पनि आम्दानी लिन सकिने कुशल ब्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालि निजगढका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । केराको बोटको सुप्लाबाट कपास, फाईवर, पेपर, झोला, जुत्ता, कोट गिफ्ट, खेलौना जस्ता बस्तु सामाग्री बजारमा आई सकेको यसबाट बनाईएको जुत्ता, कोट कपडाको जस्तै टिकाउ र आर्कषक देखिने कार्यकारी निर्देशक कोइरालाले भने ।