काठमाडौं । नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तनका कारण) ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा यो सम्मेलन हुने भएको हो ।

हाइल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलेपमेन्ट इन्टरप्राइजेज (हार्डेन) को आयोजनामा हुने सम्मेलनमा व्यवसायिक किट विकास निर्देशनालयको विशेष सहयोग रहने आयोजक समितिले जनाएको छ ।

उक्त सम्मेलन आगामी कात्तिक ७ गतेदेखि हायात रेजीन्सी होटेलमा आयोजना हुनेछ । हार्डेनले बिहिबार राजधानीस्थित कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।

एसियन एपिकल्चरल एसोसियसनका अध्यक्ष प्रा. डा. सिरिवात वोङ्स्रिीलगायत विभिन्न एसियाली मौरी विज्ञहरुको सहभागिता रहनेछ । हार्डेनका अध्यक्ष प्रो डा. रत्न थापाकाअनुसार एसियाली मुलुकमा ग्लोबल वार्मिङले मौरीमा पारेको प्रभाव, मह उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय मह उत्पादन विषयमा सम्मेलन केन्द्रित हुनेछ । थापा माहुरी बिषयमा थाइल्याण्डबाट पिएचडी गरेका छन् । माहुरीसम्बन्धी बैज्ञानिक एक मात्र बैज्ञानिक थापा हुन् ।

रुखविरुवाको विनाशसँगै मौरीको ह्रास भइरहेको छ । यस्तै बिषादी, विभिन्न प्रकारका रोग र चरण क्षेत्र र आहाराको अभावमा माहुरीको बिनाश भइरहेको छ । यसैगरी माहुरीले परागसेचन नगरेमा खाद्यान्न, फलफूल, दलहन, तेलहन, तरकारीलगायतको उत्पादन पनि नहुने बिज्ञले औल्याएका छन् ।

खाद्यान्नको परागसेचन ९५ प्रतिशत माहुरीबाट हुने गरेको छ । माहुरीको बिनाशका कारण मानिसको जीवन अप्ठ्यारोमा पर्दै गएको डा. थापाले भने । किनकी, वनस्पति विनाश, मौरीको जीवन र मानवीय जीवनचर्या अन्तरसम्बन्धित छन् । वैज्ञानिक अल्वर्ट आइन्सटाइनले पृथ्वीबाट मौरी लोप भएको खण्डमा त्यसको चार वर्षपछि सम्पूर्ण मानव जगत लोपोन्मुख हुने बताएका थिए, जसको तार्किक विश्लेषण सम्मेलनमा विज्ञहरुले पनि गर्नेछन् ।

त्यसैले खाद्य सुरक्षा र पर्यावरण संरक्षणको लागि पनि मौरी संरक्षण हुनु अति आवश्यक छ । यी विषयमा विस्तृत रुपमा चीन, फिलिपिन्स, कोरिया, भारत, अमेरिका, अस्ट्रे«लिया, थाइल्याण्ड, जर्मनीलगायत मुलुकका २० जना माहुरी, वातावरण र कृषिसम्बन्धि वैज्ञानिकहरुले कार्यपत्र पेश गर्नेछन् ।

यो सम्मेलनमा अहिलेसम्म कतै नभएको मौरी रानी प्रतियोगितासमेत हुनेछ । मिस नेपाल क्वीन बी र हनि प्रिन्सेस कन्टेस्ट नाम दिइएको यस प्रतियोगितामा रानी मौरीवीच प्रतिस्पर्धा गराइनेछ ।