झापा। गौरादह नगरपालिका-७ स्थित स्कुलचौनमा रहेको महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लसुन, प्याज र खुर्सानीमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ। सहकारीको १७ औँ वार्षिक साधारणसभामा शेयर सदस्यहरूले दैनिक उपभोग्य वस्तु प्याज, लसुन र खुर्सानी आफैँ उत्पादन गर्ने संकल्प गर्दै बचत र ऋणको कारोबारमा मात्र सिमित सहकारीले रचनात्मक कार्यमा पनि सहकारी अगाडि बढ्न सक्छ भन्ने सन्देश दिएका छन्।

चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम अन्तर्गत आत्मानिर्भरताका लागि संकल्प प्रस्ताव शीर्षकमा संस्थाका अध्यक्ष मित्रदेव काफ्लेले लसुन, प्याज र खुर्सानी आफैले उत्पादन गर्ने बजारबाट नकिन्ने संकल्प प्रस्ताव सभामा पेश गरेका थिए। उक्त प्रस्ताव पारित गर्दै शेयर सदस्यहरुले भने, ‘हामी अबदेखि प्याज, लसुन र खुर्सानी आफ्नै करेसाबारीमा उत्पादन गर्छौं, बजारमा आएर किन्दैनौँ।’ संकल्पपछि प्याज, लसुन र खोर्सानी आँफै उत्पादन गर्न लागिपरेका छन्।

अध्यक्ष काफ्लेका अनुसार उक्त सहकारीमा ८५ प्रतिशत भन्दा बढी शेयर सदस्यहरू पूर्ण रुपमा कृषि पेसामा निर्भर छन्। देशको अर्थतन्त्र मजबुद बनाउन कृषिजन्य प्याज, लसुन, खुर्सानी लगायतको भारतबाट गरिने आयात प्रतिस्थापन गर्दै स्वदेशमै आत्मनिर्भर बन्नु पर्छ भन्ने अभियान आवस्यक रहेकाले आफ्नालागि उत्पादन गर्न सक्ने कृषिजन्य वस्तु आफै उत्पादन गर्न शेयर सदस्यहरुबाट सो संकल्प गरिएको अध्यक्ष काफ्लेले बताए। ‘यहाँबाट आयतभन्दा पनि हामी अब निर्यातमा ध्यान दिन्छौँ’, उनले भने, ‘निर्यात भयो भने शेयर सदस्यको आर्थिक स्थिति पनि बलियो हुन्छ।’

कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन र कार्यन्वयन गर्न सहकारीले नै प्राविधिक सहयोग समेत उपलब्ध गराउने साथै शेयर सदस्यहरुले ब्यवहारमा कार्यन्वयन गरे/नगरेको अनुगमन समेत गरिने सहकारीका सचिव वेदु भण्डारीले जानकारी दिए। ‘शेयर सदस्यहरुले आफ्नै करेसाबारीमा आफुलाई आवस्यक कृषिजन्य लसुन, प्याज, खोर्सानी आफै उत्पादन गरे भने किन्न खर्च हुने रकम सहकारीमा क्रमश बचत हुन्छ, यसरी बचत बढ्दै जाँदा शेयर सदस्य सक्षम र समृद्ध हुँदै जान्छन्, सदस्य सक्षम र समृद्ध भए भने सहकारी पनि सबल हुँदै जान्छ’, उनले भने।

सुन्दा सामान्य जस्तो लाग्ने तर ठूलो महत्व बोकेको यो संकल्प प्रस्ताव अनुकरणीय भएको र यो प्रकारको आत्मनिर्भर बन्ने संकल्पले अभियानको रुप लिनसके सहकारी आन्दोलन नेपालमा सफल भएको प्रमाणित हुने बताउँदै संस्थाका कोषध्यक्ष युवराज बाँस्कोटाले जिम्मेवार भएर लाग्न शेयर सदस्यहरुलाई आग्रह गरे।

उनले भने,‘म सदस्यलाई के आग्रह गर्न चाहन्छु भने साधारणसभामा मात्र तालि नबजाउनुहोस् काम गरेर देखाउनुहोस् काम गर्नेलाई संस्थाले उच्च मुल्यांकन गर्ने छ।’ यस्तै अध्यक्ष काफ्लेले आगामी २ वर्षभित्र शेयर सदस्य कागतीमा आत्मनिर्भर हुने र स्कुलचौन बजार लगायतका बजारमा स्थानीय उत्पादनलाई पुर्‍याएर आयात गर्ने क्रमलाई हटाउने बताए। यसका लागि ५० प्रतिशतसम्म कागतीका बिरुवामा संस्थाबाट अनुदान दिने अध्यक्ष काफ्लेले जानकारी दिए।

प्याज, लसुन र खोर्सानीमा मात्र होइन कागतीमा समेत शेयर सदस्यहरु क्रमश आत्मनिर्भर बन्ने भएपछि कृषक शेयर सदस्यहरु उत्साहित भएका छन्।

शेयर सदस्य भएदेखि नै संस्थाबाट कृषि क्षेत्रका लागि धेरै तालिम र सिप प्राप्त गरेको र आर्थिक उपार्जनमा सहयोग पुगेको शेयर सदस्य पुष्पलाल घिमिरेले बताए। ‘म सहकारीको स्थापनाकालदेखिकै शेयर सदस्य हुँ, संस्थाले धेरैजसो कृषिसँग सम्बन्धित तालिमको आयोजना गर्ने गरेको छ जसका कारण हामीलाई कृषि पेशमा लाग्न सहज भएको छ’, उनले भने।