नेपालगञ्ज । गर्मीको मौसममा काँक्राको माग अत्याधिक बढ्ेर आम्दानी राम्रो हुन थालेपछि बाँकेमा काँक्रा खेतीतर्फ कृषकहरु आकर्षित हुन थालेका छन् ।

हरेक बर्ष गर्मीको मौसममा काँक्राको माग अत्याधिक हुने गरेकाले बिक्री बढेर आम्दानी राम्रो हुन थालेपछि जिल्लाका धेरै कृषकहरु काँक्रा खेतीमा लागेका हुन् ।

माग बढ्दै गएका कारण यहाँका किसानले व्यवसायिक काँक्रा खेती शुरु गरेर त्यसबाट राम्रो आम्दानी गर्न थालेको किसानहरुको भनाई छ । उनीहरुले मौसमी रुपमा गरिने काँक्रा खेतीबाट नै घरखर्च सहजै टार्न सक्ने भएको र बचत समेत गर्ने गरेको जनाएका छन् ।

बाँके बागेश्वरीस्थित मनकामनापुरका पवित्रा कंँडेलले गर्मीको बेला दैनिक रुपमा ठूलो परिमाणमा काँक्राको माग हुने भएकाले आफूले व्यवसायिक काँक्रो खेती शुरु गरेको बताउनुभयो ।उहाँले भन्नुभयो–‘काँक्रा बेचेर एक सिजनमा मेलै डेढ लाखभन्दा बढी आम्दानी गर्न सफल भएकी छु, त्यसैले मैले गर्मीको बेला काँक्रा खेती बर्सेति बढाउँदै लगेकी छु ।’

यसअघि व्यवसायिक गाईपालन गर्दै आउनु भएका मनकामनापुर कै मोतीलाल कँडेलले पनि काँक्रा खेतीबाट राम्रो आम्दानी देखेपछि अहिले चार विगाहा जग्गामा काँक्रा खेती गर्नुभएको छ । मोतीलालले यो सिजनमा सवा लाखभन्दा बढी आम्दानी गर्ने निश्चित रहेको बताउनुहुन्छ ।
गर्मीमा काँक्राको बिक्री धेरै बृद्धि हुने भएकाले आफू सो खेतीमा पनि लागेको जनाउँदै काँक्राबाट आम्दानी बढ्दै गएको बताउनुभयो ।

सोही प्रकारले अर्का कृषक देवी सापकोटाले पनि पाँच कठ्ठा क्षेत्रफलमा व्यवसायिक रुपमा काँक्रोे खेती गर्दै आउनुभएको छ । चना, मसुरो भन्दा काँक्रोको उत्पादनले बढी नाफा हुने भएकाले अहिले काँक्रोखेती सुरु गरेको उहाँले बताउनुभयो ।

बाँकेको बागेश्वरी, हिरमिनिया, खजुरा र महादेवपुरीमा समेत काँक्रा उत्पादन राम्रो हुँदै गएपछि अहिले भारतबाट आउने काँक्रा क्रमशः बिस्थापित हुँदै गएको छ ।

बाँकेमा हाल पाँच सय कुइन्टल भन्दा बढी काँक्रा उत्पादन भइहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार पछिल्लो समयमा आएर काँक्राको माग र उत्पादन दुबै बढेको छ ।

बागेश्वरी–५ मनकामनापुरलाई काँक्रो गाउँका नामले परिचित गराउन कृषकहरू व्यवसायिक काँक्रो खेतीमा लागेका छन् । मनकामना कृषक समूह दर्ता गरेरै त्यहाँका कृषक व्यवसायिकरुपमै काँक्रोको उत्पादन बढाउनतर्फ अग्रसर भएका छन् ।

समूहमा ६ जना पुरुष र १६ जना महिला कृषकहरु आवद्ध छन् । मनकामनापुर गाउँमा व्यवसायिक रुपमै करिब १० विगाह क्षेत्रफल बढीमा काँक्रो खेती हुँदै आएको छ ।

जिल्ला कृषि विकास कार्यालय बाँकेले पनि सो क्षेत्रका किसानलाई बिभिन्न प्रकारको प्राविधिक सहयोग प्रदान गरिरहेको छ ।
समूहमा मिलेर तरकारी खेती शुरु गरिसकेपछि जिल्लामा कृषिको क्षेत्रमा काम गर्ने किसान परियोजना कार्यक्रमले पनि सिंचाईका लागि ४० हजार बराबरको ट्यूववेल सहयोग गरेको र विभिन्न विउ उपलब्ध गराएको छ ।