काठमाडौ। सरकारले ६ वटा प्रदेशमा विषादी (पेस्टिसाइट) परीक्षण गर्ने दु्रत विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ । प्रदेश नम्बर ३ मा प्रयोगशाला स्थापना भइसकेकाले यस बाहेकका प्रदेशमा स्थापना गर्न लागिएको हो ।

तरकारीमा अत्यधिक प्रयोग गरिने विषादी परीक्षण गर्न कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले ६ वटै प्रदेशका एक, एक स्थानमा विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न लागेको हो ।

निर्देशनालयका निर्देशक डिल्लीराम शर्माका अनुसार प्रदेश नम्बर १ मा झापाको विर्तामोड, प्रदेश नम्बर २ मा सर्लाहीको लालबन्दी, प्रदेश नम्बर ४ मा पोखरा, प्रदेश नम्बर ५ मा बुटबल, प्रदेश नम्बर ६ मा नेपालगन्ज र प्रदेश नम्बर ७ मा कैलालीमा यस्तो प्रयोगशाला स्थापना गर्न लागिएको हो ।

प्रदेश नम्बर ३ को काठमाडौंमा २०७१ असार ४ मा सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को १५ लाखको आर्थिक सहयोगमा स्थापना भइसकेको छ ।

‘व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को सहयोगमा सम्पूर्ण उपकरण प्राप्त भइसकेको छ’, शर्माले भने, ‘प्राप्त भएको उपकरण तोकिएको स्थानमा पठाउने काम पनि सुरु गरिसकेका छौं ।’ उपकरण जडान गर्ने काम सम्पन्न भएपछि दसैंअघि नै प्रयोगशाला सञ्चालनमा ल्याइने उनले बताए । प्रयोगशाला स्थापना भइसकेपछि त्यस क्षेत्रमा विभिन्न स्रोतबाट आउने तरकारीमा भएको विषादीको परीक्षण गरेर मात्रै बिक्री गर्ने व्यवस्था मिलाइनेछ ।

उनका अनुसार प्याक्टको एक करोड ३२ लाख ७३ हजार सहयोगमा सातवटै स्थानको प्रयोगशालाका लागि उपकरण खरिद भएको छ । प्याक्टका प्रमुख इन्द्रकान्त झाका अनुसार एउटा प्रयोगशाला स्थापना गर्न २२ लाख रुपैयाँको लगानीमा उपकरण खरिद गरिएको छ । १० लाख मूल्य पर्ने स्पेक्टोमिटर, फुम व्युट, रसायन र किट प्याकेज गरी हरेक प्रयोगशालालाई उपकरण उपलब्ध गराइएको छ ।

निर्देशनालयले ६ वटै प्रदेशमा स्थापना हुन लागेको प्रयोगशालामा काम गर्न कृषि विभागसँग १२ जना दक्ष कर्मचारी र ६ जना सहायक कर्मचारी माग गरेको छ । ‘कर्मचारी व्यवस्थापन र उपकरण जडान हुने वित्तिकै प्रयोगशाला दसैं अघि नै सञ्चालनमा आउनेछ’, शर्माले भने ।

शर्माका अनुसार तरकारीमा विषादी निषेधदर (मानव शरीरको रगतमा भएको इन्जाइमलाई सक्रिय हुन विषादीले रोक्ने दर) ३५ प्रतिशतसम्म भेटिँदा त्यस्ता तरकारी खान योग्य मानिएको छ ।

यसैगरी ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएको तरकारीलाई तीनदिनसम्म चिस्यान केन्द्र (फ्रिज) मा राखेर र मनतातो पानीमा १० मिनेट पखालेर उपभोगमा ल्याउन सकिन्छ । विषादीको निषेधदर ४५ प्रतिशतभन्दा बढी भेटिएको अवस्थामा त्यस्ता तरकारी खान नहुने उनको सुझाव छ ।

निर्देशनालयका अनुसार नेपालमा आयात हुने कुल विषादीको परिमाणमध्ये करिब ८५ प्रतिशतभन्दा बढी व्यावसायिक रूपमा गरिने तरकारी बालीमा प्रयोग हुँदै आएको छ । सबैभन्दा बढी बारा, धादिङ, सर्लाही र काभ्रेका किसानले हरियो तरकारीमा विषादी प्रयोग गर्दै आएका छन् ।