लमजुङ । उन्नत बीउ जोगाउन लमजुङमा ५ ओटा सामुदायिक बीउ तथा अन्न भण्डारगृह निर्माण गरिएको छ । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट कृषकहरुले घरमा भण्डारण गरेको अन्न तथा बीउमा क्षति पुगेको भन्दै भविष्यमा यस्तो विनाशबाट जोगाउन भूकम्प प्रतिरोधी बीउ तथा अन्न भण्डारगृह निर्माण गरिएको हो ।

कृषि विकास मन्त्रालयको अनुरोधमा डिएफएलडी संस्थाको आर्थिक सहयोगमा जिल्लामा ५ ओटा बीउ भण्डारगृह निर्माण गरिएको सामथ्र्य नेपालका प्राविधिक सल्लाहकार इन्द्रराज पाण्डेले बताए । उनका अनुसार भण्डारगृह निर्माणमा सामथ्र्य नेपाल र डेपटेक नेपाल संस्थाको प्राविधिक सहयोग रहेको छ ।

संस्थाले जिल्लाको मध्यनेपाल नपाको चर्दी, सुन्दरबजार नपाको पाउँदी र परेवाडँडा, राइनास नपाको हर्रावोट र चक्रतिर्थमा बीउ तथा अन्न भण्डार निर्माण गरेको छ ।

एउटा बीउ भण्डारगृह निर्माणका लागि ३० लाख खर्च भएको डेपटेक नेपालका ईञ्जिनियर तथा परियोजना संयोजक सुवेश श्रेष्ठले बताए । उनले भने, ‘५ ओटा भण्डारगृह निर्माणमा मात्र रू. १ करोड ५० लाख खर्च भएको छ, बाँकी अन्य सामग्री समेत थप्ने हुँदा खर्च बढ्ने अनुमान छ ।’

संस्थाले निर्माण सम्पन्न भण्डार गृहहरु स्थानीय कृषक समूहहरुलाई हस्तान्तरण गरेको छ । भण्डार गृह निर्माणसँगै जलवायु परिवर्तन र बढ्दो खाद्य असुरक्षासँग लड्नको निम्ति लोपोन्मुख स्थानीय बाली र तिनीहरुका रैथाने जातहरुको महत्व, संरक्षण, दिगो उपयोग र प्रवर्धनको उपायहरुको बारेमा कृषकहरु सचेत हुने जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत चन्द्रराम चौधरीले बताए ।

भण्डारण गृहमा उन्नत र लोपोन्मुख प्रजातीका वालीहरुको विउ राखिने छ । वीउ भण्डारगृह स्थापना भएपछि त्यसको सञ्चालन प्रक्रिया र दिगोपनाका लागि कृषकहरु अन्र्तक्रिया गर्न थालेका छन् ।

स्थानीय क्षेत्रमा पाईने स्थानीय बालीका रैथाने जातहरुको विविधतालाई घरखेतस्तरमै संरक्षणको लागि र अत्यन्त लोपोन्मुख बालीलाई दीर्घकालीन रुपमा संरक्षण गर्ने नीति अनुरुप भण्डारगृह निर्माण गरेको सामथ्र्य नेपालका प्राविधिक सल्लाहकार इन्द्रराज पाण्डेले बताए ।

संस्थाले कृषि विभागबाट स्वीकृति लिएर जिल्ला कृषि विकास कार्यालयको अगुवाईमा जिल्ला दैवी प्रकोप उद्धार समितिको वैठकबाट निर्माणस्थल छनोट गरी जिल्लाको ५ स्थानमा भण्डारगृह निर्माण गरेको समेत जानकारी दिए । संस्थाले लमजुङ सहित तनहुँ जिल्लामा ५ र मकवानपुर जिल्लामा समेत ५ ओटा वीउ तथा अन्न भण्डारगृह निर्माण गरेको छ ।