काभ्रे । बोधिचित्त (बुद्धचित्त) को गेडाबाटै राम्रो आम्दानी लिदै आएका जिल्लाको तिमाल भेगका बासिन्दा यस बर्ष राम्रो बजार नपाएकोमा चिन्तित बनेका छन् । एक बोटबाटै एक लाख देखि पचास लाखसम्म लिएका यहाँका बासिन्दा पुनः कौडीको भाउमा बेच्नुपर्दा चिन्तित बनेका हुन ।

पहिला खासै मतलब नभएको एक पाथीको एक सयदेखि दुई सयसम्म बेच्दै आएका यहाँका बासिन्दालाई पाँच बर्ष अगाडि एकासि मालाको भाउ अकासीपछि अन्य खेती छाडेर यसतर्फ आकर्षित हुँदै आएका थिए । सामान्य बोटबाट समेत राम्रो आम्दानी लिने स्थानिय अघिल्लो बर्षको जस्तो भाउ नआएकोमा चिन्तित बनेका छन ।

अघिल्लो बर्ष पाँच बोटको रु १५ लाखमा बेचेको थिएँ, कानपुर गाविस ९ का हिराकाजी लामाले गुनासो गर्दे भन्नुभयो, यस बर्ष त मुश्किलले पाँच लाख पनि दिन मान्दैनन । बोटबाट बुद्धचित्तका दाना हराउन थालेपछि पाले तथा घरेलु हतियारले सुरक्षा दिएर बचाएको दानाको भाउ पुन घटेर घर मै राख्नुपरेपछि स्थानिय त्रसित बनेका छन् ।

घर मै राखेका छांै, अघिल्लो बर्ष साउन मै बेचेको बताउने लामाले भाउ कै प्रतीक्षामा विक्री नगरेको बताउनुभयो । तर यसले सुरक्षाको चिन्ता पनि थपेको छ । तिमाल भेगका कानपुर, पोखरी नारायणस्थान, सस्र्युखक, मेच्छेपौवा, कुरुवा चापाँखोरी, ठुलोपर्सेल लगायतका गाविसहरुका स्थानियले अझै माला विक्री गरेका छैनन् ।

वौद्ध धर्मालम्बीले मालाको लागि प्रयोग गर्ने यो वुद्धचित्त प्रायः तिब्बत निकासी हुने बताइन्छ । पहिले बारी ओगटेको भन्दै काटेर फाल्ने यहाँका स्थानीय बासिन्दाले अहिले बारीभरी यसको विरुवा लगाएका छन । काभ्रेको तिमाल क्षेत्रमा पाईने वुद्धचित्त सबैभन्दा उत्तम मानिन्छ ।

विरुवा लगाएको तीनवर्ष देखिनै फल्न थाल्ने यो वुद्धचित्त फल लाग्नु भन्दा अगाडि नै विक्री हुनेगर्दछ । स्थानियका अनुसार सबैभन्दा सानो गेडाबाट बनाइएको माला अत्याधिक महङ्गो हुन्छ ।

आधिकारीक जानकारी नभएपनि स्थानिय विक्रेताले बताए अनुसार ७ मिलिमिटर भएको १ सय ८ गेडाको एउटै मालाको चारलाख रुपियाँ भन्दा बढी मुल्य समेत स्थानीयले लिदै आएका थिए ।

साथै वुद्धचित्तको साइज तथा तीन मुख सात मुखे हेरेर मुल्य फरक–फरक पर्ने व्यापारी तेर्साङ लामाले बताउनुभयो । मैले ७ मिलिमिटरको अघिल्लो बर्ष चार लाख मा बेचेको थिए, तेर्साङले भन्नुभयो तर यस बर्ष मुस्किलले डेड लाखमा समेत विक्री गर्न सकेको छैन । उहाँले ३ करोड भन्दा बढीको बुद्धचित्तको माला किनेको तर भाउ नआएकाले विक्री नगरेको बताउनुभयो ।

बैशाख १२ को भूकम्प र पटक पटकको बाढी पहिरोका कारण अरनीको राजमार्ग अन्र्तगत छिमेकी मुलुक चीन जाने तातोपानी नाकामा पु¥याएको क्षेतीका कारण तिब्वत सम्म माला पु¥याउन नसक्दा विक्रीमा कमी आएको स्थानीयको भनाइ छ । भने कलिलै गेडा विक्री गरिदिदाँ तिव्बतियनहरूले क्वालीटिको माला नल्याएको भन्दै नकिनेको व्यापारी तेर्साङले बताउनुभयो ।

पछिलो समयमा भाउ राम्रो आएपछि काभ्रे लगायत अन्य जिल्लामा समेत बुद्धचित्त लगाउने बढेका छन । प्रतिप्रर्धा बढ्दै जानुले पनि विक्रीमा कमी आएको हुन सक्ने व्यापारीहरु बताउँछन ।

बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । खास गरी परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंने विश्वास छ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भइहेको छ ।

अत्याधिक माग र उच्च मूल्यका कारण व्यवसायिक खेति तथा सौख र आम्दनीका लागि गमलामा पनि रोप्न सकिने भएकोले विरुवा उत्पादन गरी स्थानियले राम्रो आम्दानी समेत लिदै आएका थिए तर एकासि भाउ घटन थालेपछि स्थानिय के गर्ने भन्ने अन्योलमा परेका छन् ।